चितवन, १५ माघ ।
प्रगतिशील विचारधाराका पत्रकारहरूको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशभर विविध कार्यक्रम गरी आफ्नो २२औं स्थापना दिवस भव्य रूपमा मनाएको छ ।

चितवनमा आयोजित दीप प्रज्वलन कार्यक्रममा क्रान्तिकारी पत्रकारकी अग्रज एवं केन्द्रिय सदस्य अजिता अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए, जानकारी जिल्ला उपाध्यक्ष एवं कार्यक्रम संयोजक नविनबाबु मरहट्टाले दिएका छन् ।
कार्यक्रममा बोल्दै अजिता अधिकारीले प्रेस सेन्टरले श्रमजीवी पत्रकारहरूको संगठनको रूपमा सफल भइसकेको बताइन् । उनले सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राख्दै काम गर्न पत्रकारहरूलाई अनुरोध गर्दै, भ्रष्टाचार विरोधी अभियान र जनपक्षीय पत्रकारितामा संस्था अग्रस्थानमा रहेको उल्लेख गरिन् ।
पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले श्रमजीवी पत्रकारहरूको हक, हित र सुरक्षाका लागि प्रेस सेन्टरसँगको सहकार्य अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले संस्थाको २२ वर्षे यात्रा र चितवन समिति जनपक्षीय पत्रकारिताको बलियो माध्यमको रूपमा अगाडि बढिरहेको जानकारी दिए । उनले सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिताले नागरिकका हक–अधिकार र न्यायका लागि सधैं अग्रस्थानमा काम गरिरहेको बताए ।
अध्यक्ष आचार्यले भने, “नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका छ । अबको समयमा तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान दिन आवश्यक छ ।”
कार्यक्रमको स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष नविनबाबु मरहट्टाले प्रस्तुत गरेका थिए भने सञ्चालन भरतपुर महानगर कमिटीका उपाध्यक्ष रवि अधिकारीले गरेका थिए ।





