राप्ती, १५ माघ ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका विषयमा सरोकारवाला निकाय र विद्यालयहरूबीच समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
थ्रि एन्जल्स नेपाल, चितवन शाखाको आयोजनामा राप्ती नगरपालिका तथा मनहरी गाउँपालिकाभित्रका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा उक्त छलफल गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जे.एन. थपलिया प्रमुख अतिथि रहनुभएको थियो भने थ्रि एन्जल्स नेपालका सीईओ विवेक ढकालको अध्यक्षता रहेको थियो । प्रमुख अतिथि थपलियाले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई जरैदेखि उन्मूलन गर्न गाउँ, टोल, समाज, स्थानीय तहदेखि राज्यसम्म सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गत शनिबार राप्ती–२, गड्यौलीस्थित मास्के कम्प्लेक्समा आयोजित कार्यक्रममा राप्ती–२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–३ का वडा अध्यक्ष शिवकान्त ओली, मनहरी गाउँपालिका – ७ का वडा सदस्य नवराज सुवेदी, श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालय राप्तीका सहायक प्रधानाध्यापक साधुराम रिजाल, बुद्ध शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक नमराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अस्थायी प्रहरी पोष्ट लोथरका प्रमुख गोपीबहादुर ब्लोनले मानव बेचबिखन न्यूनीकरणका लागि सबै पक्षबीच सहकार्य र हातेमालो अपरिहार्य रहेको बताउनुभयो । उहाँले आफ्नो टोलछिमेकमा कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरी कार्यालय वा सम्बन्धित वडामा जानकारी गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपस्थित नेपाल सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि सदैव सक्रिय रहने प्रतिबद्धता जनाउँदै संकल्पपत्रमा हस्ताक्षर गरे । यससँगै महिला, किशोरी तथा बालबालिकाको गरिमा, सुरक्षा र अधिकार संरक्षणका लागि नीति कार्यान्वयन, समन्वय, पीडितकेन्द्रित संरक्षण तथा दिगो पुनःस्थापनामा संयुक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
“उद्धार, रोकथाम र पुनःस्थापनामार्फत मानव बेचबिखनको अन्त्य गरौँ” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको थ्रि एन्जल्स नेपालले विगतदेखि नै मानव बेचबिखन विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
थ्रि एन्जल्स नेपालकी एएफटी म्यानेजर ममिला गुरुङले सहजीकरण गर्नुभएको कार्यक्रम संस्थाकी चितवन शाखा अध्यक्ष सुनिता सिलवालले सञ्चालन गर्नुभएको थियो ।





