चितवन, १५ माघ ।
नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलले आफूले चितवनको समाजका लागि विगतदेखि गर्दै आएको योगदान सबैलाई राम्रैसँग थाहा भएको बताएकी छन् । घरदैलो कार्यक्रममा चितवनका जनतामाझ बोल्दै उनले समाज परिवर्तनका लागि निरन्तर रूपमा सक्रिय रहँदै आएको उल्लेख गरिन् ।
खरेलले विशेष गरी महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा आफूले पुर्याएको योगदानलाई चितवनवासीले नजिकबाट नियालिरहेको बताइन् । “मैले चितवनको समाजका लागि गरेको काम बोलिरहनु पर्दैन, यहाँका नागरिकले आफैं महसुस गर्नुभएको छ” उनले भनिन् ।
अहिलेसम्म गर्दै आएको कामलाई संस्थागत गर्दै कानुनी निर्माणको तहसम्म पुर्याउने आफ्नो लक्ष्य रहेको खरेलको भनाइ थियो । “मैले गरेको काम जनतालाई थाहा छ, त्यसको मूल्याङ्कन उहाँहरूले नै गर्नुहुन्छ,” उनले थपिन् ।
उनले जनतामुखी विकास आफ्नो मुख्य प्राथमिकता भएको उल्लेख गर्दै आगामी दिनमा पनि समाजको हितका लागि जिम्मेवारीपूर्वक काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् । साथै, उनले यस अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा खरेल नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ कि उम्मेदवार हुन् ।





