चितवनमा चुनावी तयारी जोरदार : सबै दल प्रचारप्रसार र समिति निर्माणमा सक्रिय

चितवन, १३ माघ ।
चितवन जिल्लाका सबै दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रचार तयारीमा तीव्रता दिएका छन् । कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलन र प्रचार–प्रसारका विभिन्न कामहरू धमाधम भइरहेको छ ।

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन भइसकेको छ । “जिल्ला, निर्वाचन क्षेत्र र वडा तहमा समिति बनाएर आन्तरिक तयारी पूरा गर्दै प्रचारमा लाग्ने अवस्था छ,” उहाँले बताउनुभयो । उहाँले कांग्रेसमा हाल गुटगत समस्या नरहेको र विशेष महाधिवेशनपछि सबै एकजुट भई चुनावी परिचालनमा लागेको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल पाठक ले पनि जिल्लास्तरीय, क्षेत्रस्तरीय र वडास्तरमा निर्वाचन परिचालन, स्वयंसेवक र आर्थिक सङ्कलन समिति बनाइसकेको जानकारी दिनुभयो । उहाँले प्रत्येक निर्वाचन क्षेत्रको समस्यालाई पहिचान गरी छुट्टाछुट्टै घोषणापत्र तयार पार्ने तयारी भइरहेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य घनश्याम दाहाल ले तीनवटै क्षेत्रका उम्मेदवारले कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरिसकेको र सम्पर्क कार्यालय खोल्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले धेरै पार्टीहरू मिलेर बनेको भए पनि पार्टी अझ सङ्गठित भई प्रचार अभियानमा जुटेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य राजन गौतम ले भने, पार्टीले क्षेत्रीय र राष्ट्रिय मुद्दा समेटेर घोषणापत्र निर्माणको काम गरिरहेको र प्रचार समिति क्षेत्र नम्बर १ र ३ मा गठन भइसकेको, क्षेत्र नम्बर २ मा पार्टी सभापतिसँग परामर्शपछि समिति गठन हुने बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ मतदाता सहभागी हुनेछन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष, दुई लाख २४ हजार ७६६ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । यसपटक ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ वटा नयाँ मतदान केन्द्र पनि खुल्ने छन् ।

निर्वाचन क्षेत्र अनुसार मतदाता विवरण:
क्षेत्र नम्बर १ मा १,४९,६२१ मतदाता (७६,७६१ पुरुष, ७५,८६० महिला), ५६ मतदान स्थल, १६८ मतदान केन्द्र
क्षेत्र नम्बर २ मा १,३७,१५२ मतदाता (६७,८५७ पुरुष, ६९,२९४ महिला, १ तेस्रो लिङ्गी), ४८ स्थल, १५२ केन्द्र

क्षेत्र नम्बर ३ मा १,५५,३०९ मतदाता (७५,६९६ पुरुष, ७९,६१२ महिला, १ तेस्रो लिङ्गी), ६३ स्थल, १७४ केन्द्र
जिल्लामा तीनवटै निर्वाचन क्षेत्रको प्रचार–प्रसार तयारी सुरु भइसकेको छ र दलहरू आगामी निर्वाचनमा प्रभावकारी प्रदर्शन गर्न सक्रिय छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट