चितवन, १३ माघ ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ द्वारा क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ को आयोजनामा मंगलबार वडा नम्बर १ को रामनगर र वडा नम्बर २ को क्षेत्रपुरमा कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मनोनयन प्राप्त उम्मेदवार मीनाकुमारी खरेललाई विजयी गराउन सबै एकजुट भएर लाग्ने निर्णय गरेको छ ।
कार्यक्रममा आगामी दिनमा सञ्चालन गरिने चुनावी गतिविधि, प्रचार–प्रसार रणनीति तथा घरदैलो अभियानलगायत विषयमा विस्तृत छलफल गरिएको थियो ।
भेलालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर २ की कांग्रेस उम्मेदवार मीना खरेलले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आगामी निर्वाचनमा पार्टीभित्र एकता र सक्रियता अपरिहार्य रहेको बताउँदै सबैलाई एकजुट भएर चुनावी अभियानमा होमिन आग्रह गरिन् ।
उनले भनिन्, “निर्वाचन जित्न पार्टीभित्रको एकता र सक्रियता अत्यावश्यक छ। अहिले कांग्रेस परिवर्तन भइसकेको छ, कांग्रेसलाई भोट हाल्न जनता आतुर छन्। त्यसैले सबै मिलेर लाग्यौं भने चुनाव अवश्य जितिन्छ ।”
भेला तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला पार्टी सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, पूर्व सभापति विकास कोइराला, नेता मिलनबाबु श्रेष्ठ, ऋषिराज पाण्डे, मनोज रानाभाट, महिला संघ अध्यक्ष पार्वती शाह ठकुरी, बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी लगायत पार्टीका क्रियाशील नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ–संस्थाका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यसैबीच, माघ १४ गते वडा नम्बर १०, ११ र १२ मा पनि नेपाली कांग्रेसको क्रियाशील भेला आयोजना गरिने जानकारी दिइएको छ ।





