सिड्नी, १३ माघ ।
अस्ट्रेलियामा बसोबास गर्ने नेपाली साहित्यप्रेमी पाठक तथा सर्जकहरूका लागि नेपाली साहित्यका पुस्तक सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सिड्नी निवासी साहित्यिक सर्जक श्वेता मैनालीले ‘किताब अड्डा’को औपचारिक शुभारम्भ गरेकी छन् । प्रवासमै बसेर नेपाली भाषा, साहित्य र पठन संस्कृतिलाई निरन्तरता दिन चाहनेहरूलाई लक्षित गर्दै सुरु गरिएको यस सेवामार्फत अब अस्ट्रेलियाबाटै नेपाली पुस्तक खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
गत २५ जनवरीमा आयोजित एक विशेष कार्यक्रममा श्वेता मैनाली र उनका श्रीमान् रामु भण्डारीले संयुक्त रूपमा रिबन काटेर ‘किताब अड्डा’को उद्घाटन गरेका थिए । सो अवसरमा ‘किताब अड्डा’को अनलाइन पोर्टलसमेत औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिँदै श्वेता मैनालीले प्रवासमा रहेका नेपालीहरूलाई मातृभाषासँग जोडिराख्न पठन संस्कृतिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अनेसास न्यू साउथ वेल्स च्याप्टरका अध्यक्ष डा. प्रकाश पौडेलले प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेकी श्वेता मैनालीले साहित्य पठन तथा लेखनप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यसहित ‘किताब अड्डा’को सुरुआत गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले यस अभियानको विस्तार अस्ट्रेलियाभरि फैलियोस् भन्ने शुभकामना व्यक्त गरे ।
अनेसासका पूर्व अध्यक्ष सानु घिमिरेले नारी सर्जकको नेतृत्वमा नारी व्यवस्थापनसहित अघि बढेको यस साहित्यिक पहलको खुलेर प्रशंसा गर्दै, यसले प्रवासी नेपाली समाजमा पठन संस्कृतिलाई थप बल दिने विश्वास व्यक्त गरिन् ।
‘किताब अड्डा’की प्रोप्राइटर श्वेता मैनालीले यस यात्रामा निरन्तर साथ र सहयोग पुर्याउने आफ्ना श्रीमान् रामु भण्डारी तथा लोगो डिजाइन गर्ने छोरा ऋषव भण्डारीप्रति आभार व्यक्त गरिन् । साथै, परिवारजन र सम्पूर्ण साहित्यिक सर्जकहरूको योगदानप्रति धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा सिड्नीका साहित्यिक सर्जकहरू ममता मिश्र, भावना पराजुली, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, महेश्वर शर्मा, जितेन्द्र मल्ल, सौरभ किरण श्रेष्ठ, प्रविण टन्डन, पेन्टर कृष्ण, सुदर्शन अधिकारी, कुमार शर्मालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
मनपर्ने नेपाली पुस्तकहरू मक्वारी फिल्ड्समा प्रत्यक्ष आएर वा अनलाइन www.kitabadda.com.au मार्फत खरिद गर्न सकिने र अस्ट्रेलियाभरि कुरियर सेवाबाट पुस्तक उपलब्ध हुने व्यवस्था रहेको जानकारी श्वेता मैनालीले गराएकी छन् ।





