चितवन, १२ माघ ।
चितवनमा बिआइटी र बिएचएम पढाइ हुने आरम्भ कलेजले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमताको विकाससहित खेलभावना, अनुशासन र टीमवर्कलाई प्रोत्साहन गर्नु हो ।
प्रतियोगिता माघ १८ देखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११ मा सञ्चालन हुनेछ । आयोजक समितिले ३५ भन्दा बढी टिमको सहभागिता हुने अपेक्षा राखेको छ । सबै खेलहरू नेपाल बास्केटबल संघ (NeBA) का नियमअनुसार हुने छन् भने अनुभवी रेफ्री, प्राविधिक समिति र स्वयंसेवक टोलीले व्यवस्थापन गर्ने छन् ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई रु. १५,००० र दोस्रो स्थान प्राप्त टिमलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिनेछ। साथै, व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई Most Valuable Player (MVP) र Highest Scorer का रूपमा विशेष सम्मान प्रदान गरिने आयोजकले जानकारी दिएको छ। सहभागी सबै टिम तथा विजेतालाई प्रमाणपत्र पनि दिइनेछ ।
प्रतियोगिताको तयारीस्वरूप पहिलो दिन ओरिएन्टेशन कार्यक्रम सम्पन्न भइसकेको छ, जहाँ टिम लिडर र सदस्यहरूको अन्तिम सूची पुष्टि गरी नियम, खेल तालिका, अनुशासन र सुरक्षा व्यवस्थाबारे जानकारी दिइएको थियो ।
आरम्भ कलेजका प्राचार्य सुरज सिवाकोटीले यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सबै विद्यार्थी, अभिभावक र खेलप्रेमी दर्शकलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन अनुरोध गर्नुभएको छ ।





