चितवन, १२ माघ ।
नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर–२ की उम्मेदवार मीना खरेलले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेकी छन् । भरतपुर महानगरपालिका–स्थित लङ्कूमा रहेको उनको निजी निवासबाट सुरु भएको अभियानमा विभिन्न राजनीतिक दलमा आबद्ध महिलाहरूको उल्लेख्य सहभागितासहित भव्य स्वागत गरिएको हो ।

सोमबार आयोजित कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा तथा टोल तहसम्मका महिलाहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी महिलाहरूले खरेललाई आशीर्वाद दिँदै आगामी निर्वाचनमा जितको शुभकामना व्यक्त गरे । चितवन क्षेत्र नम्बर–२ का प्रायः सबै भू–भागबाट महिलाहरूको उल्लेख्य सहभागिताले कार्यक्रमको माहोल उत्साहपूर्ण बनेको थियो ।
आफ्नै निवासमा महिला दिदीबहिनी, आमाबुवा तथा शुभेच्छुकहरूबाट पाएको माया र आशीर्वादप्रति खुशी व्यक्त गर्दै खरेलले महिलाहरूको उत्साहजनक समर्थनले आफ्नो जित सुनिश्चित भएको अनुभूति भएको बताइन् ।

खरेलले बालमस्तिष्कदेखि राजनीतिक चेतनासम्मको यात्रामा समाजसेवामार्फत महिला तथा बालबालिकाको पक्षमा निरन्तर काम गर्दै आएको उल्लेख गरिन् । सोही योगदानको मूल्याङ्कन गर्दै पार्टीले दिएको उम्मेदवारीप्रति कृतज्ञता व्यक्त गर्दै उनले भनिन्, “पार्टीका साथीहरू मात्र होइन, पार्टी बाहिरका स्वतन्त्र महिलाहरूले पनि ‘मीनाको उम्मेदवारी हाम्रो उम्मेदवारी हो’ भन्नु भएको छ । यसले समग्र महिलाको प्रतिनिधित्व गर्दै कानुन निर्माण गर्ने तहमा पुगेर समाज सेवा र विकासलाई निरन्तरता दिने हौसला मिलेको छ ।”
संविधानले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरे पनि हाल पार्टीतर्फबाट ११ प्रतिशत मात्रै महिला उम्मेदवार रहेको उल्लेख गर्दै खरेलले चुनावमा होमिएका महिला उम्मेदवारहरूलाई जिताउनु चुनौतीपूर्ण तर आवश्यक रहेको बताइन् ।

चितवन क्षेत्र नम्बर–२ मा आफ्नो मुख्य प्रतिस्पर्धी आफू स्वयं भएको दाबी गर्दै उनले यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशतभन्दा बढी महिला भएकाले महिलाहरूले आफूलाई मतदान गर्ने पूर्ण विश्वास व्यक्त गरिन् । विजयी भएमा महिलामाथि हुने अन्याय, हिंसा र विभेदका मुद्दाहरू संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
विजयपश्चात् चितवन क्षेत्र नम्बर–२ को पहिचान थप मजबुत बनाउँदै राष्ट्रिय स्तरमै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै खरेलले आफ्नो व्यावहारिक अनुभव र विगतको कार्यसम्पादनका आधारमा जिम्मेवारी वहन गर्न आफू पूर्ण रूपमा सक्षम रहेको बताइन् ।





