मकवानपुरका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

मकवानपुर, ८ माघ
मकवानपुर जिल्लाका तीन फरक स्थानमा भएका सवारी दुर्घटना र करेन्ट लाग्ने घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा भएका घटनामा मानवीय क्षति भएको हो ।

बोलेरो दुर्घटनामा एकको मृत्यु, दुई घाइते
इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक कुखुरा बोकेको बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सर्लाहीबाट हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको बोलेरो पिकअप बिहीबार बिहान करिब १ बजे ब्रेक फेल भई सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए । तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा सहचालक मण्डलको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र स्कुटर ठोक्किँदा चालकको मृत्यु
यसैगरी हेटौंडा–ललितपुर जोड्ने कान्ति लोकपथअन्तर्गत बकैया गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो जितपुर भञ्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ क ०९५२ नम्बरको ट्रक र म.प्र. ०३–०३९ प ५६४४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० पानीट्यांकीका ५० वर्षीय अनुराग श्रेष्ठ घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

करेन्ट लागेर मजदुरको मृत्यु
यस्तै, हेटौंडा उपमहानगरपालिका–१७ हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो विद्युत् ट्रान्सफर्मर मर्मतका क्रममा मनहरी गाउँपालिका–५ वसन्तपुरका २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भट्टराई ठेकेदारमार्फत नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर मर्मत कार्यमा संलग्न मजदुर रहेको बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट