राप्ती, ८ माघ ।
पूर्वीचितवनको राप्ती नगरपालिका –५ भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ ।
बुधबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले सन्देश घलानलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । अन्य पदाधिकारी भने यथावत् रहने भएका छन् ।
हाल उपाध्यक्षमा आइतिमाया तामाङ, कोषाध्यक्षमा शान्ति कुँवर थापा र सह–सचिवमा अमृत गौतम रहेका छन् भने सचिव पद रिक्त रहेको छ ।
निवर्तमान अध्यक्ष नरेन्द्र रुवाली वैदेशिक भ्रमणमा जानु पर्ने भएकाले पदबाट राजीनामा दिएपछि बाँकी कार्यकालका लागि घलान अध्यक्ष चयन भएका हुन् ।
वि.सं. २०५२ सालदेखि सञ्चालनमा आएको यो सामुदायिक वन २९७.७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने हाल ९२० घरधुरी उपभोक्ता रहेका छन् ।
कार्यक्रम राप्ती–५ का वडा अध्यक्ष सीताराम बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।





