मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २० प्रतिशत छुट

गैंडाकोट, ५ माघ ।
मौलाकाली केवलकार र लुम्बिनी केवलकारबीच सेवाग्राहीलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा २० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले हस्ताक्षर गरेका हुन् । अब कुनै एक केवलकारको यात्रा गरेपछि अघिल्लो यात्राको टिकट देखाएर अर्को केवलकारमा २० प्रतिशत छुटमा यात्रा गर्न सकिनेछ ।

मौलाकाली केवलकारका स्टेशन म्यानेजर पौडेलले हाल टिकट देखाएरै छुट उपलब्ध गराइने जानकारी दिँदै यसलाई अझ व्यवस्थित र सहज बनाउने विषयमा छलफल भइरहेको बताए । “हाललाई टिकट देखाएरै छुट प्राप्त गर्न सक्नुहुन्छ, यसलाई थप व्यवस्थित बनाउने उपायबारे हामी सोचिरहेका छौँ,” उनले भने ।

यो छुट सुविधाबाट मौलाकाली र लुम्बिनी दुवै केवलकारका सेवाग्राही लाभान्वित हुने विश्वास गरिएको छ । आइएमई समूहद्वारा प्रवर्द्धित यी दुई केवलकारबीचको सम्झौता आपसी सहकार्यको राम्रो उदाहरण भएको पौडेलको भनाइ छ ।

लुम्बिनी केवलकारका म्यानेजर घिमिरेले एकले अर्को गन्तव्यको प्रवर्द्धन गर्ने संस्कृतिले पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनका अनुसार अघिल्लो केवलकारको टिकट काटेको मितिले तीन महिनासम्म यो छुट सुविधा प्राप्त गर्न सकिनेछ ।


मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ, जहाँबाट १५औँ शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ । त्यसैगरी, लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ, जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा रहेको माँ कामाख्या मन्दिर पुग्न सकिन्छ ।

मौलाकाली केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल सञ्चालनमा रहेको छ भने वसन्तपुरमा १५० कोठासहितको अत्याधुनिक होटल निर्माणको चरणमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट