चितवन, ४ माघ ।
चितवन प्रदर्शनी केन्द्रमा सञ्चालित आठौँ एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि ४ गतेसम्म चलेको एक्स्पोमा ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा एक्स्पो आयोजना गरिएको हो । मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले तीन दिनमा ३१ हजारभन्दा बढी अवलोकनकर्ता आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक्स्पो छोटो अवधिको भए पनि अवलोकनकर्ताको उल्लेखनीय रुचि देखियो । सहभागीहरूले कृषि प्रविधि र उत्पादनबारे बुझ्ने, जान्ने तथा प्रयोगसम्बन्धी जानकारी लिए । सबै प्रदर्शकहरू पनि सन्तुष्ट हुनुहुन्छ ।”
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलेका एक्स्पो तथा मेलामा सबै प्रकारका अवलोकनकर्ता आउने गर्थे । यसपटक भने लक्षित समूहका अवलोकनकर्ता बढी सहभागी भए ।”

यस्ता कार्यक्रमहरूले सार्थकता पाउँदै गएको र अवलोकनकर्ताले अधिकतम लाभ लिएको घिमिरेको भनाइ छ । कृषक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता लगायत विषयगत क्षेत्रका अवलोकनकर्ताको उत्साहजनक सहभागिताले एक्स्पो सफल भएको उहाँले बताउनुभयो ।
विगतका वर्षझैँ यस वर्ष पनि देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टल रहेका थिए ।
प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको मिडिया स्पेसका प्रबन्ध निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रवर्द्धक संस्थाका रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ ।
साथै राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् ।
माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको थियो ।





