मकवानपुरमा दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

मकवानपुर, ३ माघ ।

मकवानपुरको हेटौँडामा बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना रहेको महोत्सव दोस्रो संस्करणमा आयोजना हुन लागिएको हो ।

आयोजक संस्थाले हेटौँडामा पत्रकार सम्मेलनमार्फत महोत्सवको जानकारी सार्वजनिक गर्दै खेल, कृषि, पर्यटन र व्यापारलाई एउटै थलोमा जोड्ने उदेश्य रहेको बताएका छन् ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले खेलक्षेत्रको पूर्वाधार विकासका लागि तीनै तहको सरकार र सरकारी संघसंस्थासँग सहकार्य गर्ने बताए । उनले खेलकुदमार्फत दक्ष खेलाडी उत्पादन गरी राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको पनि जानकारी दिए ।

महोत्सव माघ २८ गतेबाट सुरु भई फागुन १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । महोत्सवमा करिब ४ सय स्टल हुनेछन् जसमा खेलकुद, कृषि र व्यापारको विविध प्रस्तुती रहने छ । मुख्य कार्यक्रम हेटौँडा–१०, टीसीएन चौरमा आयोजना हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुनेछ । प्रथम पुरस्कारको राशी ४ लाख, दोस्रो पुरस्कार २ लाख र सान्त्वना पुरस्कार ५०/५० हजार राखिएको छ ।

यस्तै, महोत्सवमा जिल्ला स्तरीय भलिबल, कराँते, ब्याडमिन्टन प्रतियोगिता, राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र २२ किलोमिटर दौड आयोजना गरिनेछ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ३० हजार, दोस्रो २० हजार र तृतीय १० हजार रुपैयाँ प्रदान गरिने छ। साथै, १० जना खेलाडीलाई जनही २५ हजार रुपैयाँ सम्मान रकम प्रदान गरिनेछ ।

कार्यक्रमको मुख्य आकर्षण घरेलु उत्पादन तथा कृषि उत्पादन प्रदर्शनी हुनेछ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगीतिक प्रस्तुती र कलात्मक झाँकी पनि प्रदर्शनी गरिनेछ। कुल ८० लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नेछन् भने समापन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले गर्नेछिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट