काठमाडौं / सिड्नी — नोभेम्बर २०२५
नेपालीद्वारा नेपाल र नेपालीका लागि सञ्चालित विश्वकै सबैभन्दा ठूलो नेपाली परोपकारी संस्था HELP NEPAL Network (HeNN) ले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, प्राकृतिक विपत्तिदेखि पुनःस्थापनासम्म नेपालका दुर्गम गाउँघरमा आशा र उज्यालो फैलाउँदै सेवा–यात्रा गरिरहेको कुरा यहाँ सर्वविदित नै छ ।
गत वर्ष काठमाडौंमा संसारका २५ भन्दा बढी देशका परोपकारी तथा स्वयंसेवी नेपालीहरू मिलेर संस्थाको २५औँ वर्षगाँठ (रजत जयन्ती) मनाइएको थियो । संस्थाको अन्तर्राष्ट्रिय नेतृत्व भने अस्ट्रेलियाका युवा व्यवसायी एवं प्राध्यापक डिला खरेल ले सम्हालिरहेका छन् ।
हेल्प नेपाल नेटवर्कले यो वर्ष देशका दुर्गम भू–भागदेखि सहरसम्म विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य, बाल–संरक्षण, महिला सशक्तिकरण तथा आपतकालीन राहतका क्षेत्रमा उल्लेखनीय र प्रभावशाली कार्य गर्दै हजारौँ नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ ।
“जहाँ आवश्यक छ, त्यहीँ सेवा” भन्ने भावनासहित स्थापित हेल्प नेपाल नेटवर्क आज पनि करुणा, सहानुभूति र मानवीय सेवामा अविचलित रूपमा लागिरहेको छ ।
हेल्प नेपालले व्यावहारिक परोपकार (Practical Philanthropy) को संस्कृतिलाई विश्वभर फैलाइरहेको छ— “सानो सहयोग, ठूलो परिवर्तन” को मूल मन्त्रका साथ ।
“हरेक रुपैयाँ, हरेक सहयोग — नेपालका लागि हाम्रो प्रतिबद्धता हो ।”
हेल्प नेपाल नेटवर्कका कार्य क्षेत्रहरू :-
शिक्षा :-
यस वर्षका प्रमुख उपलब्धिहरू :
सिन्धुपाल्चोकस्थित श्री सिपाटिङघरे संस्कृत माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सहयोग ।
दोलखाको श्री राजकुलेश्वर आधारभूत विद्यालयमा १ जना इङ्लिस मिडियम शिक्षक र १ जना मोन्टेसरी केयरटेकरका लागि एक वर्षको तलब सहयोग ।
श्री पञ्चकन्या आधारभूत विद्यालयमा ४ जना शिक्षकको तलब तथा अतिरिक्त पाठ्यक्रम पुस्तक खरिद सहयोग।
दोल्पाको महिला सामुदायिक सेवा समाज अनाथालयमा शैक्षिक सामग्री वितरण — अनाथ बालबालिकाको भविष्य उज्यालो बनाउने पहल ।
प्युठान, डोटी, धुलिखेललगायतका विद्यालयहरूमा ट्र्याकसुट, स्कुल झोला, सुरक्षा प्याड लगायतका सामग्री वितरण।
धुलिखेल बालगृहमा E–Library स्थापना, बालबालिकालाई डिजिटल शिक्षासँग जोड्ने महत्वपूर्ण कदम ।
स्याङ्जा जिल्लाका विद्यार्थीहरूलाई “नयाँ शिक्षामा सूचना प्रविधिको प्रभाव” विषयमा कक्षा, तालिम तथा सीप विकास कार्यक्रम सम्पन्न ।
रसुवा, आछाम र बैतडी जिल्लाका ३ वटा प्राथमिक विद्यालयमा पुस्तकालय, शौचालय तथा खानेपानी ट्यांकी निर्माण, साथै २०० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा, झोला र टम्बलर वितरण ।
स्वास्थ्य :-
दुर्गम मुगु जिल्ला मा सन् २००४ मा स्थापना गरिएको हेल्प नेपाल स्वास्थ्य चौकी — मुर्मा ले वर्षेनी करिब २,००० भन्दा बढी मानिसलाई प्राथमिक तथा आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
बर्दिया–बारबर्दिया नगर अस्पतालमा पोर्टेबल USG मेसिन, Infant Radiant Warmer र आपतकालीन ट्रली हस्तान्तरण ।
मुगु जिल्लामा हेल्प नेपाल स्वास्थ्य चौकीमार्फत तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा गहिरो आँखा उपचार शिविर सञ्चालन ।
मुगुमा HPV खोप अभियान — क्यान्सरविरुद्धको महत्वपूर्ण पहल ।
अन्तर्राष्ट्रिय स्वयंसेवकको सहकार्यमा ग्यास्ट्रोएन्टेराइटिस तथा श्वसन संक्रमणको उपचार ।
स्वास्थ्य पोस्टहरूमा स्ट्रेचर, औषधि तथा आपतकालीन सामग्री वितरण ।
सन् २०२५ मा दन्त शिविर, भिटामिन ‘ए’ तथा कृमिनाशक औषधि वितरण, किशोरीहरूका लागि HPV खोप अभियान जस्ता सेवाहरू सञ्चालन गरियो ।
बाजुरा जिल्लामा महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत करिब ६०० किशोरी तथा महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना अघि बढाइएको छ ।
यातायात नपुग्ने गाउँसम्म पुगेर उपचार दिने यो सेवा “सहानुभूति सडकभन्दा टाढासम्म पुग्छ” भन्ने सन्देश हो ।
आपतकालीन उद्धार, मानवीय सेवा, राहत कार्य र स्वयंसेवा :-
हालैका बाढी तथा पहिरोका बेला हेल्प नेपाल नेटवर्कले तत्काल राहतसहित प्रभावित परिवारहरूसँग हातेमालो गर्यो। दोलखा, म्याग्दी, सिन्धुपाल्चोक, इलामलगायत जिल्लामा अस्थायी टहरा, टेन्ट, जस्तापाता, खाद्यान्न, औषधि तथा खाना वितरण गरियो ।
काभ्रे, सिन्धुपाल्चोक, ललितपुर र दोलखाका बाढी तथा पहिरोपीडितलाई राहत वितरण ।
इलाममा बाढीपीडितहरूका लागि १५ टार्पोलिन र १९ अस्थायी टेन्ट घर निर्माण ।
इलाम, खोटाङ र सप्तरीका आगलागी पीडितलाई कम्बल तथा राहत सामग्री वितरण ।
बाजाङ, रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितलाई खाद्यान्न, कम्बल, त्रिपाल तथा आपतकालीन सहयोग।
दाङ तथा तनहुँका बालबालिकालाई न्यानो कपडा वितरण, कठिन मौसममा सुरक्षित गर्ने प्रयास ।
प्रत्येक सहयोग — चाहे सानो होस् वा ठूलो — पुनर्जीवनको आशा बन्यो ।
बालगृह / बाल आश्रम सञ्चालन :-
धुलिखेल हेल्प नेपाल बालगृह — २४ बालिकाको सुरक्षित भविष्य
हेल्प नेपाल नेटवर्कद्वारा सञ्चालित धुलिखेल बालगृहमा २४ बालिकाहरूले सुरक्षित आवास, गुणस्तरीय शिक्षा र जीवन–कौशल सिकिरहेका छन् ।
यस वर्ष बालिकाहरूले एसईईमा उत्कृष्ट नतिजा ल्याई संस्थाको गौरव बढाए ।
बालगृहकी प्रतिभाशाली विद्यार्थी सिता सिंहले Grade 12 मा GPA 3.24 प्राप्त गरी उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरिन् ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखसहित अधिकारप्राप्त व्यक्तिहरूको टोलीले बालगृहको भ्रमण गरी बाल–अधिकार तथा कानुनी सचेतनासम्बन्धी अभिप्रेरणात्मक सत्र सञ्चालन गर्यो । सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ र समीक्षा बैठकले पारदर्शिता र जवाफदेहिताप्रति संस्थाको उच्च प्रतिबद्धता देखाएको छ ।
बालिकाहरूले पोखरा, लुम्बिनी, सुनौली र पाल्पाको चारदिने शैक्षिक तथा सांस्कृतिक भ्रमणमा सहभागी भई व्यवहारिक ज्ञान, आत्मविश्वास र सांस्कृतिक अनुभव बटुले ।
साझेदारी सहयोग :-
ललितपुर, इमाडोलस्थित “साझा सहयात्री नेपाल” लाई खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गरी संस्थाले सामाजिक सहकार्य र साझेदारीलाई थप सुदृढ बनाएको छ ।
सन्देश :-
हेल्प नेपाल नेटवर्कले विश्वभरका सबै नेपाली तथा नेपालप्रेमीहरूलाई आह्वान गर्दछ — परोपकार लाई आफ्नो जीवनशैली बनाऔँ, सेवा र स्वयंसेवाको संस्कार फैलाऔँ।
संस्थाका प्रवक्ता तथा पूर्व BBC नेपाली सेवाका पत्रकार भगिरथ योगी भन्छन् :-
“पीडामा परेका मानिसहरूको आँखामा अजम्बरी अपेक्षा हुन्छ । हेल्प नेपाल त्यही अपेक्षाको बीच उभिन सक्ने संस्था हो ।”
“मैले पत्रकारितामा धेरै संवेदनशील क्षण देखेँ, तर यहाँ हजारौँ साधारण मानिसहरूको असाधारण उदारता देख्दा मानवता अझै बाँचेको छ भन्ने दृढ विश्वास पलाउँछ।”
संस्थाका अध्यक्ष अरुण सिंह बस्नेतले भने :-
“हेल्प नेपाल नेटवर्क हजारौँ स्वयंसेवकको मन, समय र कर्मले बटुलेको जीवन–उद्धार अभियान हो । हामी रात–दिन देशभरका कठिन भूगोलमा काम गर्न सक्षम हुनु विदेशी भूमिमा बसेका नेपालीहरूको निरन्तर आशीर्वादको परिणाम हो । आगामी वर्ष हामी अझ प्रभावकारी कार्यक्रमसहित अघि बढ्नेछौँ।”
हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय नेतृत्व सम्हालेका स्वयंसेवक डिला खरेल ले भने :-
“हामी विदेशमा बस्छौँ, तर हाम्रो मुटु अझै नेपालकै लागि धड्किन्छ। हेल्प नेपाल नेटवर्कको प्रत्येक गतिविधि हाम्रो सामूहिक करुणा र उत्तरदायित्वको प्रतिरूप हो । सानो–सानो सहयोगले कसैको जीवनमा अकल्पनीय परिवर्तन ल्याइदिन्छ भन्ने विश्वासले हामीलाई हरेक वर्ष अझ दूरदराज पुग्ने प्रेरणा दिन्छ।”
यसैगरी, स्वयंसेवक डिला खरेल ले विश्वभरका नेपाली समुदायलाई सेवा, परोपकार र स्वयंसेवालाई जीवनशैलीका रूपमा अंगीकार गर्न आह्वानसमेत गरेका छन् । संस्थाका गतिविधि, वित्तीय पारदर्शिता तथा स्वयंसेवा संरचना संस्थाको वेबसाइट https://helpnepal.net/ मा उपलब्ध छ।





