एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

गैँडाकोट, २९ पुस ।
गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव मंगलबार करिब १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार साँझको समयमा दर्शकको अत्यधिक भीड देखिएको थियो ।

पुस २५ देखि सुरु भएको महोत्सवमा दर्शकहरूको आकर्षण दिनहुँ बढ्दै गएको सापकोटाले जानकारी दिनुभयो । जिल्लाकै चर्चित कलाकार अर्जुन सापकोटाको प्रस्तुतीका कारण पनि आज महोत्सवमा बढी दर्शक उपस्थित भएको बताइएको छ ।

मंगलबार महोत्सवको सांस्कृतिक कार्यक्रममा अर्जुन सापकोटासहित सपना रोक्का, भरत क्षेत्री र स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालका अनुसार आज भजन प्रतियोगितासमेत जारी रहेको थियो । स्थानीय कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनका लागि भजन प्रतियोगिता सञ्चालन गरिएको लम्सालले जानकारी दिनुभयो ।

महोत्सवको आगामी कार्यक्रम अन्तर्गत बुधबार चर्चित गायिका प्रिती आलेसहित वृन्दा परियार, शंकर क्षेत्री, निलम ढुंगाना र दिपेन थापाको प्रस्तुति रहनेछ । कार्यक्रम सञ्चालन दीपक खड्काले गर्ने बताइएको छ ।

स्थानीय कृषि उत्पादन र व्यवसाय प्रबर्द्धन लागि आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले जानकारी दिएको छ । महोत्सवमा कुल २ लाख दर्शकको उपस्थिति र २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सव अवलोकनका लागि सामान्य टिकटको मूल्य १०० रुपैयाँ राखिएको छ भने विद्यार्थीका लागि ७० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग र शैक्षिक संस्थाबाट सहभागी भएका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको सुविधा उपलब्ध छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट