चितवन, २९ पुस ।
नारायणगढस्थित नारायणी कला मन्दिरको ५० औँ साधारणसभा तथा अधिवेशनको अवसरमा ‘शिव रेग्मी स्मृति पुरस्कार’ रङ्गकर्मी प्रदीप ढुङ्गाना (अञ्जान प्रदीप)लाई प्रदान गरिएको छ ।
भरतपुर महानगरपालिका–६, चितवन निवासी ढुङ्गानालाई सम्मान–पत्रसहित नगद रु. १५,००५/- प्रदान गर्दै उक्त पुरस्कार हस्तान्तरण गरिएको हो । रङ्गमञ्च तथा कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ढुङ्गानालाई यो सम्मान प्रदान गरिएको नारायणी कला मन्दिरले जनाएको छ ।
स्व. शिव रेग्मी स्मृति अक्षयकोषका अध्यक्ष सहनलाल प्रधान रहेका छन् भने भरतपुर घर भई हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका सामाजिक अभियन्ता डिला खरेल उक्त पुरस्कारका संरक्षक रहेका छन् ।
सम्मान कार्यक्रममा स्व. शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले स्व. शिव रेग्मीले नेपाली चलचित्रको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै यस्ता पुरस्कारले स्रष्टा तथा कलाकारहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
शिव रेग्मी नेपाली फिल्म उद्योगका एक सफल निर्देशक, पटकथा लेखक तथा निर्माता थिए । उनले नेपाली चलचित्र जगतलाई व्यवसायिक रुपमा सफल र दर्शक-मनपरि फिल्महरू प्रदान गरेर ठूलो योगदान दिएका छन् । उनले रङ्गकर्मीका रूपमा नारायणी कला मन्दिरबाट आफ्नो कलाकारी करियर सुरु गरेका हुन् र पछि चलचित्र निर्देशनतिर लागेका थिए ।
उनले निर्देशन गरेका केही चर्चित चलचित्रहरू आफन्त, ए मेरो हजुर, सुख दुःख, हामी तीन भाइ, कहाँ भेटिएला, दुनियाँ, मानिस, उपहार, पाहुनालगायत छन् । यी फिल्महरूले नेपाली सिनेमा उद्योगमा व्यावसायिक रेकर्ड कायम गर्न मद्दत गरेका थिए ।
मृगौलाको रोगबाट पीडित रेग्मीको निधन २०७० मंसिर २४ गते भएको थियो ।





