देवघाटधाम, २४ पुस ।
राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजको २९औँ वार्षिक पुण्यतिथिको पूर्वसन्ध्यामा परमानन्द संस्कृत छात्र कल्याण परिषद् देवघाटधामको आयोजनामा परमानन्द काव्य सरिता–२०८२ को १७औँ शृङ्खला आयोजना गरिने भएको छ ।
आयोजकका अनुसार कार्यक्रम पुस २६ गते शनिबार बेलुकी साढे ६ बजेदेखि सुरु हुनेछ । साहित्य, संगीत र कलाको त्रिवेणीका रूपमा प्रस्तुत हुने कार्यक्रममा कविता वाचन, साङ्गीतिक प्रस्तुति तथा नाट्य प्रस्तुति समावेश गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा साहित्यकार प्रा. डा. देवी नेपाल रहनुहुनेछ । यस अवसरमा ‘उल्टो टोपी’ नामक नाटकको मञ्चन समेत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल तथा भारतका विभिन्न कवि, साहित्यकार र विद्वानहरूको गौरवमय उपस्थिति रहने अपेक्षा गरिएको छ । साथै, टाढाबाट सहभागी हुन आउने अतिथिहरूका लागि आवास तथा भोजनको व्यवस्था गरिएको जानकारी पनि आयोजकले दिएको छ ।
आयोजक परिषद्ले साहित्यप्रेमी, कलाकार तथा सर्वसाधारणलाई देवघाटधाममा हुने कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ ।





