देवघाटधाम, २४ पुस ।
पवित्र धार्मिकस्थल,आध्यात्मिक क्षेत्र देवघाटधाम तनहुँमा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा पुस ३० गते बुधबार “मकर-काव्य-यामिनी”को २३ औँ शृङ्खला हुने भएको छ ।
यसपटक प्राडा भागवत शर्माको प्रमुख आतिथ्य तथा सुप्रसिद्ध कवि मनु मञ्जीलको विशेष उपस्थितिमा यो संस्करण सञ्चालन हुनेछ भने चितवन, मकवानपुर, कास्की, नवलपरासी, काठमाडौं तथा देशका विभिन्न स्थानका काव्यसाधकहरूको सहभागिता रहनेछ ।
२०६० सालबाट निरन्तर सञ्चालन भइरहेको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो । राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पुस महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन हुने गरेको थियो । मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा विशिष्ट स्रष्टा एवं साहित्यानुरागी श्रोताहरूलाई सादर निमन्त्रणा गरिएको छ । “देवघाट महाकाव्य ” “म र मेरा” र “महापुरुष” का स्रष्टा निराजन पन्त, सुप्रसिद्धछन्दकवि छन्दकवि सुदेश सत्याल , कवि नगाधिराज, कवि तथा गजलकार अहम् स्रष्टा आदि मकर काव्य यामिनीका प्रतिनिधि कवि उत्पादन हुन् । माघ १ गते देवघाटमा माघेसङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्यपान गर्न पाउनुलाई सुअवसरका रुपमा लिने गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर-काव्य-यामिनी सफल भएको छ ।
सम्पूर्ण काव्यप्रेमी साहित्यानुरागी स्रष्टा तथा दर्शक श्रोताहरूलाई सादर निमन्त्रणा गरिएको छ । सवारीसाधनबाट आउने व्यक्तिहरू रामनगर ठिमुराको पुल तथा जुगेडीको पुलबाट महेश संस्कृत गुरुकुलमा पुन्न सक्नेछन् । अन्य व्यक्तिहरू नारायणगढ आँपटारी हुँदै झोलुङ्गे पुलबाट गुरुकुल पुग्न सक्नेछन् । सबै अतिथिहरूलाई खाने र बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।
“सतत झुमिरहेझैँ मोह मायाविनीमा,
अनवरत डुबेझैँ भाव-मन्दाकिनीमा |
हृदयरस पगाल्ने भावकी मोहिनीमा,
सहृदयसँग मिल्दै पाल्नुहोस् यामिनीमा ॥”
सम्पर्क- ९८४०३०२७०४,९८५५०५०९६४





