गैंडाकोट, २४ पुस ।
माधव वियोगी वाङ्मय प्रतिष्ठानले माधव वियोगी साहित्य पुरस्कार – २०८२ बाट कविवर गोविन्दराज विनोदीलाई सम्मान गरेको छ ।
बिहीबार गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा छन्दनायक माधव वियोगीले कविवर विनोदीलाई दोसल्ला ओढाइ सम्मानपत्रले सम्मान गर्नुभएको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।
पोखरामा कार्यालय रहेकोे प्रतिष्ठानले साहित्य यात्राका सिलसिलामा गैंडाकोट आएर कवि विनोदीलाई सम्मान गरेको हो । टोलीमा प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठी, सचिव शिव त्रिपाठी, कोषाध्यक्ष छन्दिका त्रिपाठीलगायत हुनुहुन्थ्यो ।
सम्मान कार्यक्रममा शिव त्रिपाठीको नयाँ कृति `जिन्दगीका सय टुक्रा´को नवलपुर समर्पण गरिएको थियो । कार्यक्रममा शुभ शर्मा र शिव त्रिपाठीले कवितावाचन गर्नुभएको थियो । त्यसैगरी गोपी सापकोटा, माधव वियोगी र गोविन्दराज विनोदीले मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीले मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो ।





