गैँडाकोट, २१ पुस
चौथो गैँडाकोट महोत्सवको मिति नजिकिँदै जाँदा महोत्सव स्थलमा धमाधम स्टल निर्माणको काम भइरहेको छ । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को आयोजनामा गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको तयारीस्वरूप स्टल निर्माण तीव्रगतिमा अघि बढिरहेको आयोजकले जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलका अनुसार गैँडाकोट महोत्सव तथा व्यापार मेला–२०८२ को मूल गेट निर्माण सम्पन्न भइसकेको छ ।
महोत्सवको प्रवेशद्वारमा मौलाकालिका मन्दिरको गेटको स्वरूप झल्कने गरी निर्माण गरिएको उनले बताए। यसले धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सव स्थलमा स्टलसँगै बाल उद्यान, जलपरी तथा माछाको टनेल निर्माणको काम पनि तीव्रगतिमा अघि बढिरहेको कँडेलले जानकारी दिए ।
महोत्सवलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समिति सक्रिय रूपमा जुटिरहेको कँडेलले बताए । नारायणी नदी किनारको सुरक्षाका लागि बार लगाउने तथा सिसिटिभी क्यामेरा जडान गर्ने काम अघि बढेको छ । साथै, महोत्सवलाई सुरक्षित बनाउन आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थासमेत मिलाइएको उनले बताए ।
महोत्सवलाई सुरक्षित बनाउन सुरक्षासमितिसँग बैठक गरी आवश्यक समन्वय गरिएको संघका सदस्य एवम् महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय गैँडाकोट तथा सशस्त्र प्रहरी बल पितौजीसँग बाह्य सुरक्षाका विषयमा छलफल भइसकेको छ । महोत्सवलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजक सक्रिय रहेको उनले बताए । साथै, कृषि परिसरलाई आकर्षक बनाउने उद्देश्यले कृषि समितिसँग छलफल गरी काम अघि बढाइएको पनि सापकोटाले जानकारी दिए ।
महोत्सव सचिवालय संयोजक एवम् संघका महासचिव तेजनारायण पाण्डेले महोत्सवको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको बताए । उद्घाटनका दिन आयोजना गरिने शोभायात्रालाई भव्य बनाउन स्टेरिङ समितिसहित विभिन्न संघसंस्थासँग छलफल भइरहेको उनको भनाइ छ । महोत्सव स्थलमा सिसिटिभी निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापनको प्रबन्ध गरिने पाण्डेले बताए ।
महोत्सवमा रेष्टुरेन्ट, बाल उद्यान, जलपरी तथा फिस टनेल, ओपेरा हाउस, उद्योग तथा वाणिज्य, अटो लगायतका छुट्टाछुट्टै परिसर रहनेछन् । यसपटक महोत्सव स्थल फरक शैलीमा निर्माण गरिएको छ । प्रदर्शनी कक्षलाई पेगोडा शैलीमा तयार पारिएको र स्टलहरू समेत आकर्षक तथा फरक ढाँचामा निर्माण गरिएको आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटनको दिन बिहान १० बजे गैंडाकोट नगरपालिका कार्यालयबाट शोभायात्रा निकालिने शोभायात्रा उपसमिति संयोजक मेघराज कँडेलले बताए । `स्थानीय भेषभुषा, झाँकी र सांस्कृतिक पहिचान झल्कने गरी शोभायात्रा निकालिनेछ´, कँडेलले भने ।





