रक्तदान उत्प्रेरणा तथा प्राथमिक स्वास्थ्य उपचार तालिम

भरतपुर, २१ पुस
भरतपुरमा रक्तदान उत्प्रेरणा तथा प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी तालिम सम्पन्न भएको छ ।

महाकालेश्वर आमा समूह भरतपुर, चितवनको आयोजना, भरतपुर महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको प्राविधिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो । पुस १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको तालिममा २० जना सहभागीको सहभागिता रहेको थियो ।

तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई नेपाल रेडक्रस सोसाइटीद्वारा प्राथमिक उपचारकको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता महाकालेश्वर आमा समूह भरतपुर, चितवनकी अध्यक्ष उर्मिला रेग्मीले गर्नुभएको थियो । अध्यक्ष रेग्मीले समुदायमा आपतकालीन अवस्थाको सामना गर्न सक्ने दक्ष जनशक्ति तयार गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, – “रक्तदान र प्राथमिक उपचारसम्बन्धी सचेतना बढेमा धेरै अमूल्य ज्यान जोगाउन सकिन्छ ।”
उहाँले यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले स्वास्थ्य स्वयंसेवा तथा सामाजिक उत्तरदायित्वमा आमा समूहको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले स्थानीय तहले समुदायस्तरका स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
“प्राथमिक उपचारको ज्ञान हरेक नागरिकमा हुनु आवश्यक छ, यसले दुर्घटना तथा आपतकालीन अवस्थामा ठूलो राहत पुर्‍याउँछ,” उहाँको भनाइ थियो ।

तालिममा शारदा शर्मा पौडेल, रुद्र अधिकारी, नरबहादुर केसी र देवेन्द्र पौडेलले प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य समूहकी उपाध्यक्ष लक्ष्मी लामिछानेले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव बिन्दु खनालले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नेत्रकुमारी पौडेल, पूर्व अध्यक्ष उर्मिला रेग्मीलगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा अध्यक्ष रेग्मीले तालिम सफल बनाउन सहयोग पुर्‍याउने नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेल, प्रशिक्षक संयोजक चिजकुमार आले तथा भरतपुर महानगरपालिका वडा नम्बर १० परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट