चितवन, २० पुस ।
जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको ट्रेलर सार्वजनिक भएको छ । आइतबार तीन मिनेट पाँच सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो । चलचित्र माघ ९ गते देशभर एक साथ प्रदर्शन हुँदैछ ।
ट्रेलरमा राजनीति र देश परिवर्तनको बिषय देखाईएको छ । ट्रेलरमा परिवर्तनदेखि क्रान्तिसम्म र न्यायका लागि उठेको आवाजलाई दमदारका साथ प्रस्तुत गरिएको छ । दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ ।
पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ । बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग, देश विकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको निर्माता तथा लेखक दिनेश कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको निर्माण पक्ष्यको दाबी छ ।
निर्देशक कोइरालाले पारिवारिक, सामाजिक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरुको सपना, संघर्ष र बलिदानीको इतिहास ‘बिगुल’ मार्फत पर्दामा देखाउन खोजेको बताए । फिल्मले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ ।
रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति तथा म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का,रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।
सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको चलचित्रमा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्वाद,शिब ढकालको छायाङकन रहेको छ । चलचित्रमा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको छ ।





