चित्रकला र कविताको अनौठो मेल: पटिहानीमा सांस्कृतिक कार्यशाला

चितवन, १९ पुस
भरतपुर महानगरपालिका वडा नम्बर २२ को आयोजनामा चितवनको पटिहानीमा सांस्कृतिक चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरूले स्थलमै चित्र निर्माण गरेका थिए भने कविहरूले ती चित्र अवलोकन गर्दै कविता सिर्जना र वाचन गरेका थिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र भरतपुर प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा चित्र र साहित्यको सुन्दर समागम देखिएको थियो । कलाकारहरूले बनाएका चित्रहरूलाई आधार मानेर कविहरूले कविता सिर्जना गर्दै सार्वजनिक रूपमा वाचनसमेत गरेका थिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका केशवराज खनालका अनुसार कार्यशालामा २३ जना चित्रकार सहभागी थिए । प्रतिष्ठानका प्राज्ञ दिनेश्वर महत्तोले थारु पुरुष रुखमा आड लागेर सुस्ताएको दृश्य, नजिकै बगिरहेको राप्ती नदी, वरपरका तोरीबारी तथा थारु गाउँलाई क्यानभासमा उतारेका थिए। उक्त चित्र कार्यशालाको उत्कृष्ट कृतिका रूपमा चयन गरिएको थियो ।

त्यस्तै कलाकार दामोदर बरालले थारु समुदायको झुम्का नृत्यलाई अर्धमूर्त शैलीमा चित्रण गरेका थिए भने युवा कलाकार मानसी भट्टले थारु महिलाको दैनिकी र बस्तीको जीवनशैलीलाई क्यानभासमा उतारेकी थिइन् । प्राज्ञ भीम सुवेदीले थारु समुदायको भान्साकोठालाई कलात्मक ढङ्गले चित्रण गरेका थिए । कार्यक्रममा निर्माण भएका सबै चित्रलाई कवितामार्फत शब्दमा उतारिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलामार्फत देशलाई जोड्दै समृद्धिको यात्रामा अघि बढ्ने अभियान सुरु गरिएको बताए ।
“प्रज्ञा–प्रतिष्ठान जहिले पनि कला र संस्कृतिको संरक्षणमा सक्रिय छ । कला र संस्कृतिले नै देशको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँछ,” उनले भने । उनका अनुसार कला क्षेत्रले विदेशी मुद्रा आर्जनमा पनि योगदान दिइरहेको छ । “हाल वार्षिक करिब १२ अर्ब रुपैयाँ चित्रकलामार्फत नेपालमा विदेशी मुद्रा भित्रिएको छ,” उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी कवि भूपिनले कलाकारहरूले थारु लोकजीवनलाई सुन्दर रूपमा क्यानभासमा उतारेको उल्लेख गर्दै कविहरूले त्यसलाई शब्दमा जीवन्त बनाएको बताए । यो कार्यक्रम प्रकृति, जीवन र संस्कृतिको उत्कृष्ट समागम भएको उनको भनाइ थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महत्तोले सांस्कृतिक चित्रकला र त्यसमा आधारित कविता वाचन कार्यक्रम ऐतिहासिक र नौलो भएको बताए । “हाम्रा संस्कार र संस्कृतिलाई जोगाउँदै मौलिकताभित्र आधुनिकतालाई समेटेर अघि बढ्न आवश्यक छ,” उनले भने ।

कार्यक्रममा २३ वटा चित्र तयार भएका थिए। ती चित्रलाई आधार बनाएर कविहरू गोविन्दराज विनोदी, भूपिन, ईश्वर कँडेल, प्रकाश चापागाईं, मेनका चापागाईं, सिर्जन अविरल, सिम्रन क्षेत्री, राधा कोइराला, सामना पहाड, प्रकृति प्रेमी, गणेश श्रमण, सरला जोशी, विद्या भण्डारी ‘चिराग’, लीला दाहाल अधिकारी, यमुना न्यौपानेलगायतले कविता सिर्जना गरेका थिए। कविहरूले आफ्ना कविता कार्यक्रममा प्रस्तुतसमेत गरेका थिए ।

कार्यक्रममा निर्माण भएका सबै चित्रलाई सङ्ग्रहालयमा सुरक्षित गरिने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट