महिलाद्वारा मेला–महोत्सवमा निःशुल्क प्रवेशको माग

गैँडाकोट, १७ पुस ।
नवलपुरका महिला उद्यमीहरुले महिलाहरुलाई मेला–महोत्सवमा निःशुल्क प्रवेश दिनुपर्ने माग गरेका छन् । आगामी पुस २५ गतेदेखि नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सव तथा व्यापार मेला सम्बन्धमा आयोजित छलफल कार्यक्रममा महिलाहरुले निःशुल्क प्रवेशले स्थानीय उत्पादनको प्रबर्द्धनमा टेवा पुग्ने बताएका हुन् ।
छलफलका क्रममा महिला उद्यमी युकुमारी शर्मा अनिताले महिलाहरुलाई निःशुल्क प्रवेश दिँदा उनीहरुले दैनिक उपभोग्य वस्तु तथा स्थानीय उत्पादन खरिद गर्ने भएकाले महोत्सवको उद्देश्य पूरा हुने बताइन् । “पुरुषहरु महोत्सव प्रवेश गर्दा बाल उद्यान र खानपानमा बढी रमाएको देखिन्छ,” उनले भनिन्, “तर महिलाहरु घरेलु उत्पादन, अचार तथा हस्तकलाका सामग्री खरिद गर्न रुचि देखाउँछन् ।” महिलालाई निःशुल्क प्रवेशको व्यवस्था गरे आर्थिक कारोबार वृद्धि हुने उनको भनाइ छ ।

त्यस्तै, महिला उद्यमी मिना केसीले महोत्सवमा बढीभन्दा बढी महिला उद्यमीलाई समेट्नुपर्ने आवश्यकता औँल्याइन् । पछिल्लो समय महिला उद्यमीको सङ्ख्या बढ्दै जाँदा महिला सशक्तीकरणमा सकारात्मक प्रभाव परेको बताउँदै उनले महिलालाई अगाडि बढाउँदा आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखिन् । महिलालाई सशक्त बनाउन आफूले साबुन बनाउनेजस्ता तालिम प्रदान गर्दै आएको उल्लेख गर्दै महिला उद्यमीको वृद्धि सकारात्मक परिवर्तन भएको बताइन् ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट महिला समिति संयोजक सिर्जना पौडेलले महिलाहरुलाई एकताबद्ध गर्दै अगाडि बढ्ने उद्देश्यले महिला समिति गठन गरिएको बताइन् । महिलाहरु घरायसी कामसँगै व्यवसायमा समेत सक्रिय हुन थालेको उल्लेख गर्दै उनले अझ प्रभावकारी सशक्तीकरणका लागि सबै महिला उद्यमी एकजुट हुनुपर्ने बताइन् ।

जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल समिति संयोजक छवि कँडेलले संघले सधैँ महिला उद्यमी र व्यवसायलाई प्राथमिकतामा राख्दै आएको बताए ।

महिला उद्यमीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले महोत्सव उद्घाटनका दिन पुस १५ गते आयोजना हुने शोभायात्रालाई भव्य बनाउन सबै संघसंस्था तथा उद्योगी–व्यवसायीलाई सहभागी हुन आग्रह गरे ।

संघका अध्यक्ष दीपक सापकोटाले महिलाहरुले उठाएका मागबारे संघभित्र छलफल गरिने बताए । महिलाहरुलाई सधैँ निःशुल्क प्रवेश दिन नसके पनि केही सहुलियत प्रदान गर्ने विषयमा छलफल गरी निर्णय लिइने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन प्रमुख अतिथिका रूपमा सहभागी थिए । संघका महासचिव तेजनारायण पाण्डेको सहजीकरणमा सम्पन्न कार्यक्रममा वरिष्ठ सदस्य शालिकराम सापकोटा, संघका पदाधिकारी, सदस्य तथा महिला उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

महोत्सवस्थल नारायणी नदी किनारलाई व्यवस्थित गर्दै महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब दुई लाख दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट