नवलपुर एफएममा राष्ट्रिय पोशाक तथा टोपी दिवस विविध कार्यक्रमसहित मनाइयो

कावासोती, १७ पुस
नवलपुर एफएमको प्राङ्गणमा १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रम पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टका अध्यक्ष झपेन्द्र भुसालको अध्यक्षता तथा गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले राष्ट्रिय पोशाक र टोपीको ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय महत्वबारे चर्चा गर्नुभयो । उहाँले टोपी र पोशाकले सकारात्मक ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै युवापुस्तामा देखिँदै आएको राष्ट्रिय पोशाकप्रतिको निराशा हटाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । साथै, पूर्वजबाट प्राप्त संस्कृतिलाई भावी पुस्तासम्म जस्ताको तस्तै हस्तान्तरण गर्न नसकिएकोप्रति दुःख व्यक्त गर्दै यस्ता अभियानले नेपाली संस्कृति सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कावासोती नगरपालिका वडा नम्बर- ३ का वडा अध्यक्ष धर्मन गिरीले सरकारी कार्यक्रम तथा कार्यालयमा जनप्रतिनिधि र कर्मचारीहरूले अनिवार्य रूपमा टोपी लगाउनुपर्ने धारणा राख्नुभयो । यसले आत्मबल र सकारात्मक ऊर्जा बढाउने उहाँको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका कोषाध्यक्ष बेदप्रसाद न्यौपानेले निजी रेडियो भए पनि नवलपुर एफएमले सामुदायिक रेडियो सरह सामाजिक कार्यलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । रेडक्रसका उपसभापति योगप्रसाद रिजालले टोपीले राष्ट्रिय पहिचान झल्काउने भएकाले दैनिक जीवनमै यसको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

यसै अवसरमा पण्डित लोकमणि पराजुलीले राष्ट्रिय पोशाक तथा टोपीको शास्त्रीय र धार्मिक महत्वमाथि प्रकाश पार्दै टोपी नेपाली सभ्यता, संस्कार र अनुशासनको प्रतीक भएको बताउनुभयो । परम्परागत पहिचानलाई जीवनशैलीसँग जोडेर संरक्षण गर्न सके मात्र भावी पुस्तासम्म यसको निरन्तरता रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल त्रिलोक तिवारी, ह्याप्पी एफएमका स्टेशन म्यानेजर आदर्श सुशील, सामाजिक अभियन्ता किरण भुर्तेल तथा गगनकुमार न्यौपानेले नवलपुर एफएमले मिडिया क्षेत्रमार्फत समाजलाई सचेत गराउन तथा सम्बन्धित निकायलाई जिम्मेवार बनाउन सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । वक्ताहरूले आगामी वर्षहरूमा कावासोती बजारमा राष्ट्रिय पोशाकसहित र्‍याली आयोजना गर्दै दिवसलाई अझ भव्य रूपमा मनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै झपेन्द्र भुसालले सबैलाई अभियानमा जोडिन आग्रह गर्दै राष्ट्रिय पोशाक तथा टोपी दिवसलाई संविधानमै उल्लेख गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नवलपुर एफएमका संस्थापक स्व. पत्रकार तीर्थराज भुसालले सुरु गर्नुभएको अभियानलाई निरन्तरता दिँदै आएको संस्थाका निर्देशक राधिका भुसालले बताउनुभयो । उहाँका अनुसार एफएमले राष्ट्रिय संस्कृति, पहिचान र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ ।

नवलपुर एफएम तथा पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टको आयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन नवलपुर एफएमका कार्यक्रम संयोजक नारायण प्रभुले गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट