तनहुँ, १६ पुस ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ र ३ मा बसोबास गर्ने गुरुङ समुदायले मंगलबार तमू ल्होसार पर्व भव्य रूपमा मनाएका छन् । बन्दीपुर गाउँपालिका–२ र ३ को आहालभञ्ज्याङमा मिलिजुली तमु समाजको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित ल्होसार मनाइएको हो ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने दिन भएकाले वर्ष परिवर्तनको अवसरलाई तमू ल्होसार भनिन्छ । यस वर्ष गुरुङ समुदायले सप्री ल्हो (नाग वर्ग) लाई बिदाइ गरी त ल्हो (घोडा वर्ग)लाई स्वागत गर्दै तमू ल्होसार पर्व मनाएका हुन्।
ल्होसारको अवसरमा गुरुङ समुदायको मौलिक पहिरन, कला र संस्कृतिलाई झल्काउने कार्यक्रम, शुभकामना आदान–प्रदान, घैटो फुटाउने कार्यक्रम, चियापन, स्योकैँ तथा दोहोरी गायक टक गुरुङको बेजोड सांगीतिक प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रम मिलिजुली तमू समाजका अध्यक्ष चन्द्रध्वज गुरुङको अध्यक्षतामा तथा समाजका जेष्ठ नागरिक शेरबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मिलिजुली तमु समाजकी कोषाध्यक्ष निरा गुरुङ, सदस्य रामचन्द्र गुरुङ, नेपाली सेनामा कार्यरत विकास गुरुङ, पूर्व अध्यक्ष विष्णुलाल तमु, कालिका माविका पूर्व शिक्षक एवं समाजसेवी पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तमू ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् । १५ पुसको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले यस पर्वको विशेष महत्त्व रहेको बताइन्छ ।
यसै अवसरमा तनहुँका १० वटै पालिकामा बसोबास गर्ने गुरुङ समुदायले विविध कार्यक्रम आयोजना गरी तमू ल्होसार पर्व धुमधामका साथ मनाएका छन् ।





