गैंडाकोट, ११ पुस ।
लेखक धर्म सापकोटा राजुको `बाहेक´ उपन्यासको गृह विमोचन गरिएको छ ।
अक्षर समूह चितवनले बिहीबार गैंडाकोटमा आयोजना गरेको कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, उदय अधिकारी, रमेश प्रभात, रञ्जना लामिछाने र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्तरूपमा कृति विमोचन गरेका हुन् ।
कृति विमोचनपछि प्रतिष्ठानका कुलपति विनोदीले ऊर्जाशील मस्तिष्कको क्षमता पाठकमाझ आएको भन्दै खुसी व्यक्त गरे । यसअघिका कृतिहरुमार्फत सापकोटाको लेखकीय क्षमता देखिइसकेको बताउँदै उपन्यास पनि पाठकको रोजाइमा पर्ने विश्वास उनले व्यक्त गरे ।
लेखक डा. सापकोटाले करिब डेढ दशकअघिदेखिको प्रयासलाई औपन्यासिक रुप दिइएको बताए । तर, कृतिलाई पूर्णरुप दिनको लागि भने करिब पाँच/छ वर्ष लागेको उनले बताए । ‘अध्ययनदेखि विभिन्न कारणले कृतिलाई पूर्ण आकार दिन करिब पाँच/छ वर्ष लाग्यो’, उनले भने, ‘मेरो मस्तिष्कले देखेको विषयलाई पाठकमाझ पस्किएको छु, पढेर प्रतिक्रिया दिनुहोला ।’
कृतिको गृह विमोचनपछि समीक्षकहरु रमेश प्रभात, उदय अधिकारी र रञ्जना लामिछानेले कृतिमाथि समीक्षा गरेका थिए । समीक्षक प्रभातले नेपाली साहित्यमा पाठकले नयाँ विषयवस्तुको खोजी गरिरहेको बताए । ‘बाहेक’ले पाठकलाई कत्तिको नयाँ विषय दिन्छ भन्ने कुरा सोचनीय रहेको उनले बताए ।
समीक्षक उदय अधिकारीले नेपाली साहित्यमा एउटा सशक्त कृतिको प्रवेश भएको बताए । समीक्षक रञ्जना लामिछानेले तन, मन र सङ्घर्षको कथालाई बाहेकमार्फत औपन्यासिक रुप दिइएको बताइन् ।
अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले नेपाली साहित्यको श्रीवृद्धिकै लागि संस्था गठन भएको भन्दै नयाँ तथा पुराना सबै खाले साहित्यकारहरुलाई स्थान दिने काम गर्दै आएको बताए । स्थानीय लेखकहरुको क्षमता विकास र लेखनमा प्रोत्साहन गर्न संस्थाले भूमिका खेल्दै आएको उनको भनाइ छ । बाहेक उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।





