चितवन, ११ पुस ।
इच्छाकामना गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित आधारभूत विद्यालय छापाडाँडा तथा वडा नम्बर ३ स्थित आधारभूत विद्यालय तुन्तेषमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त सामग्री प्रदान गरिएको हो ।

लायन्स क्लब अफ भरतपुर ब्लु स्काई र लायन्स क्लब अफ भरतपुर उज्यालोको संयुक्त सहकार्यमा आयोजना गरिएको कार्यक्रममा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सिनियर डिपार्टमेन्टल कोअर्डिनेटर कमलप्रसाद श्रेष्ठ र लायन्स क्लब अफ भरतपुर ब्लु स्काईका चार्टर प्रेसिडेन्ट विक्रम केसी विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ भरतपुर उज्यालोकी प्रेसिडेन्ट लायन मीना पौडेल दवाडीले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै लायनहरू विष्णु श्रेष्ठ, डा. रमेश पौडेल, विजय थापा, रवि लामिछाने, पदमराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।
दुवै विद्यालयका प्रधानाध्यापक अम्बिका खड्का र कमला बुढाथोकीले धन्यवाद मन्तव्य व्यक्त गर्दै, भूगोलका हिसाबले विकट क्षेत्रका विद्यालयहरूमा आर्थिक तथा सामाजिक अभावका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको गुनासो गर्नुभयो । साना–साना सहयोगले पनि ठूलो अर्थ राख्ने भन्दै आगामी दिनमा समेत यस्तै सहकार्यको अपेक्षा गर्नुभयो।
कार्यक्रमको सञ्चालन लायन विपिन पाठकले गर्नुभएको थियो भने अध्यक्षता लायन्स क्लब अफ भरतपुर ब्लु स्काईकी प्रेसिडेन्ट दुर्गाकुमारी लामिछानेले गर्नुभएको थियो ।
अध्यक्ष लामिछानेले जाडोका कारण न्यानो कपडाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समस्या परेको जानकारी प्राप्त भएपछि दुई लायन्स क्लबको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सानो सहयोगले बालबालिकाको अनुहारमा ल्याएको खुसी अतुलनीय रहेको र यसले आफूहरूलाई सन्तोष मिलेको उहाँको भनाइ थियो ।





