रमेश प्रभात
उपप्राध्यापक, वीरेन्द्र बहुमुखी, क्याम्पस, भरतपुर, चितवन ।
(रत्ननगर वाङ्मय प्रतिष्ठान, रत्ननगर, चितवनले प्रकाशित गरेको उपन्यासकार गोकर्ण मल्लको दोस्रो उपन्यास ‘निर्गम’ (२०८२) नेपालबाट विदेश पलायन हुने युवाहरुको कथा हो । आकारगत रुपमा यसले कूल १७२ पृष्ठको मझौला खालको आयाम ओगटेको छ । नेपालका विशेषतः ग्रामीण भेगका रुपमा परिचित गोरखाको कथा भन्दै सिङ्गो नेपालमा फैलिँदै गएको विदेश पलायन हुने समस्यालाई मार्मिक रुपमा उठाएकाले यसबाट पाठकले मनग्यै आनन्द लिने देखिन्छ ।)
आरम्भमा केही अनौपचारिक कुरा
नेपाली साहित्यमा थुप्रै गुरुहरु छन्, तिनमा गोविन्द नाम गरेका दुई जना गुरुलाई म चिन्छु, गोविन्दराज विनोदी र गोविन्दराज भट्टराई । यी दुई गुरुमा धेरै भिन्नताहरु होलान् । म त्यतातिर जान्नँ । यिनमा एउटा कुराचाहिँ समानता छ, त्यो हो, उनीहरुको सङ्गतमा आएका जुनकुनै सर्जकका जस्तोसुकै रचनालाई पनि राम्रो भनिदिने । हुन त यस्तो हौसलाले नयाँ लेखकहरुलाई लेखिरहन सहयोग गर्ला तर राम्रो लेख्न नि ? यो प्रश्नको उत्तर मलाई थाहा छैन ।
यो उपन्यासको भूमिकामा भट्टराई सरका केही भनाइ हेरौँ है त :
“यो आख्यान पठनीय छ, यथार्थ छ, जीवन्त छ । प्रेम कथाहरु छन् । तर स्थिति बिग्रेपछि समाजले बाटो बिराएपछि यहाँका नागरिक पनि दिशाहीन बन्ने रहेछन् भन्ने दृष्टान्त छ ।” (पृ. ञ)
समालोचकले लेखकलाइ यति धेरै नफुक्र्याएको भए हुने नि । त्यसो त सुधार गर्नुपर्ने कुरामा सङ्केत गरेको कुरा पनि गरेका छन्, तर तिनमा कति काम भयो भन्ने कुरामा उनी अलिक मौन भएका हुन् कि ? यही भएर पनि हो कि यो उपन्यास ‘वाह !’ भन्ने खालको भने बनेको छैन ।
स्रष्टा गोकर्ण मल्लबारे केही शब्द
त्यसो त अब स्रष्टा गोकर्ण मल्ललाई चिनाइरहनुपर्छ जस्तो मलाई लाग्दैन । लामो समय शहीद स्मृति बहुमुखी क्याम्पस, टाँडीमा अर्थशास्त्र विषय पढाएर निवृत्त भएपछि साहित्यमा होमिन आइपुगेका पूर्वप्राध्यापक गोकर्ण मल्ल यतिबेला आफ्नो तेस्रो साहित्यिक कृति तथा दोस्रो उपन्यास ‘निर्गम’ (२०८२) लिएर पाठकसामु आएका छन् । यसअघि उनका ‘शुभरम्भका पाइला’ उपन्यास (२०७८) र ‘सिउँडीको फूल’ कवितासङ्ग्रह (२०७९) प्रकाशित भइसकेका छन् । त्यस्तै यसपछि मुक्तक र कथाका कृति प्रकाशनको साइत कुरिरहेका छन् ।
लामो समय चितवन बसेका भए पनि उनको जन्म २०१३ सालमा तनहुँ जिल्लाको छाङ गाउँमा भएको हो । उनी सेवानिवृत्त जीवनमा धार्मिक कार्य, समाजसेवा, अध्ययन र लेखनमा व्यस्त रहेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका मल्लका साहित्यइतर अर्थशास्त्र विषयका विभिन्न तहका चार वटा पाठ्यपुस्तकहरु पनि प्रकाशित भएका छन् । यो उपन्यासको प्रमुख वितरक सम्पूर्ण किताब, नारायणगढ रहेको छ । यस उपन्यासको मूल्य रु. ३७५।– राखिएकाले यो सामान्य पाठकको पहुँचभित्रकै छ भन्दा हुन्छ ।
‘निर्गम’ उपन्यासको सामान्य चिनारी
उपन्यासकार गोकर्ण मल्लको दोस्रो ‘निर्गम’ कूल १७२ पृष्ठको आयाममा फैलिएको मझौला आकारको उपन्यास हो । जम्मा ३४ खण्डमा रचिएको यो उपन्यास घटीमा दुई पृष्ठदेखि बढीमा तेह्र पृष्ठको आयामसम्म फैलिएको छ । छोटा खालका विना शीर्षकको खण्डयोजना गरिएको यो उपन्यास ०० बाट सुरु गरी १ देखि ३२ सम्म अङ्क राखेर अन्त्यमा फेरि ०० राखी टुङ्ग्याइएको पाइन्छ । यसरी सुरुको र अन्तिमको खण्डमा शून्य राख्नु लेखकको शून्यमोह हो कि दार्शनिकता ? भन्ने कुरा भने प्रस्ट भएको छैन ।
त्यसो त यो सामान्य खालको उपन्यास भएकाले यसमा दर्शनको जटिल पक्ष कतै भेटिदैन । यसमा नेपालको गाउँले जीवन, सहरिया जीवन, वैदेशिक जीवन, प्रेम आदिको चित्रण गर्न खोजिएको छ । घटनाहरु निकै थुपारिएको छ । त्यसमा परिष्कार र परिमार्जन भने अलिक कम नै गरिएको पाइन्छ । कतिपय घटना त आकस्मिक खालका पनि छन् । त्यसले पाठकलाई यस्तो पनि हुन्छ र भन्ने भान गराउँछ ।
`निर्गम’उपन्यासले उठाएको विषयवस्तु
‘निर्गम’ उपन्यासमा लेखक गोकर्ण मल्लले ‘मेरा आद्यान्तका कुरा’ शीर्षकको लेखकीयमा यस्तो लेखेका छन् :
“म दोधारमा परेकै बेला जे होस् तटस्थ मनले बिरक्तिएकै आवाज त आएकै हो भनेकोले बहुमतीय रायअनुसार कसको आवाज होला ? भनेर सोध्न थाल्दा निर्गमित सन्तानका कारण निर्गमित बाउआमाहरुमध्ये पोखरी डाँडाका पूर्वनिवासी कुनै भट्किएको आत्माको आवाज हो झैँ लागेर नबोलेको र बाँकी कुरा आफैँ बुझ्नू भन्ने सङ्केत गरेको होला भन्ने ठानेर त्यो आवाजको कथा व्यथालाई बुझ्ने क्रममा जे जति बुझेँ त्यति लेख्ने सिलसिलामा तयार भएको यो ‘निर्गम’ उपन्यास आदरणीय पाठकहरुलाई सप्रेम पस्किन पाउँदा गौरवान्वित भएको छु म ।” (पृ. द)
वरिष्ठ समालोचक गोविन्दराज भट्टराई ‘वर्तमान यथार्थको हृदयहारी अभिलेखन निर्गम’ शीर्षक राखेर उपन्यासको भूमिकामा उपन्यासको मूल कथ्यलाई यसरी चिनाउँछन् :
“यसको मूल पात्र शिवनाथ भन्ने एक युवा हो । पढ्ने उद्देश्यले उसको अमेरिका गमन, समुद्रमा खेल्दा डुबेर बिरामी, निको भएर (पढाइ सिध्याएर) नेपाल फिर्ती, यहाँ जागीरको खोजी र अप्राप्ति, केही गर्ने उद्योग सबै असफल कथानकको मूल डोरो यही हो । तर हाम्रा मूल पात्र देशमा असफल भयो किनभने यतिखेर हरेक युवायुवतीको प्रतिभालाई भ्रष्टाचारले छेक्छ । त्यसकारण ऊ हताश भएर पुनः निर्गम अर्थात् अमेरिकी फिर्ती यात्रामा जान निश्चय गर्छ, जान्छ । एक गडफादरको सथ अमेरिका पुगेका युवा त्यहीँकी युवती सतिभाले बचाई र नेपाल फि¥यो । त्यसैबेलादेखि केटीसित प्रेम सुरु भयो । कथा सार यत्ति हो ।” (पृ. ग–घ)
हो, ‘निर्गम’ उपन्यासको शीर्षकले नै भन्छ, जसरी भए पनि देश छोडेर बाहिर पठाउनुपर्छ । यही कुरामा दत्तचित्त भएर लागेका छन् उपन्यासकार मल्ल । उनी शिवनाथ शर्मालाई आरम्भमा देशप्रेमीजस्तो देखाउन खोज्छन्, देशमै पढेर केही गर्नुपर्छ भन्ने पनि बनाउँछन् । पार्वतीजस्ती निःस्वार्थ प्रेम गर्ने युवतीको प्रेमलाई अनाहकमा लत्याउन लगाउँछन् । गडफादरको पछि लगाएर अमेरिका पठाउँछन् । समुद्री छालबाट शिवनाथलाई बचाउने युवती सतिभासँग पुरातन खालको प्रेम गराइदिन्छन् । त्यो प्रेममा यौनलाई निकै लुकाएर राख्छन् । के यतिबेलाको युवायुवती प्रेममा परे भने शिव र सतिभाजस्तै हुन सक्छन् ? स्नातक तह पढिसकेर नेपाल फर्केको शिवलाई एक वर्षसम्म जागिर खोज्न लगाउँछन्, जागिर नपाएपछि कुखुरापालनमा लगाइदिन्छन् । त्यसमा घाटा खाएको र जग्गाधनीसँग विवाद परिरहेको बेलामा एक्कासि गाउँपालिकाको चुनावमा अध्यक्ष पदमा लड्न लगाइदिन्छन् र हार खान बाध्य पार्छन् । चुनावमा भाग लिनु भनेको एक्कासि हुने हो कि निरन्तर गाउँको पिर, मर्का र अप्ठ्यारामा सहभागी बनेपछि जाने हो ? एउटा चुनाव हार्दैमा विदेश पलायन भइहाल्ने हो भने त यो देशमा कहिल्यै युवाहरु राजनीतिमा नआए भइहाल्यो त । यसका बारेमा लेखकको ध्यान नपुगेको हो त ?
यस प्रकार ‘निर्गम’ उपन्यासमा घटनाको थुप्रो छ । शिवनाथ पटक पटक पानीमा डुबेर बच्नबाट बचेको छ । पहिलो पटक अमेरिकामा र दोस्रो पटक आफ्नै गाउँनजिक । यी दुबै घटना अप्रत्याशित भएका छन् । यसमा कतिपय घटना अनावश्यक रुपमा पनि आएका छन्, ती घटनाहरुलाई सर्सती हेर्दा यो कृति उपन्यास वा आख्यान जस्तो नभएर केल घटनाको थुप्रोजस्तो पनि लाग्न पुग्छ । यो हुनुको कारण उपन्यास लेख्दा कथावस्तु त खोजियो तर कथानक बनाउनतिर लागिएन कि भन्ने थाहा हुन्छ । यस्तो हुँदा पाठकले मज्जा मानेर नपढ्न सक्छन् । लेखक महोदय, यतातर्फ कहिले सचेत हुने हो ?
सुधार गर्न सकिने केही कुरा
हामी साहित्यलाई सामान्य ठान्छौँ । वास्तवमा साहित्य त्यस्तो कुरा हुँदै होइन, यो त विशिष्ट खालको अभिव्यक्ति हो । सामान्य अभिव्यक्तिलाई साहित्य मान्ने हो भने साहित्यको मर्म नै मर्छ । त्यही सामान्य अभिव्यक्तिमा पनि कला मिसिएर आयो भने त्यो साहित्य बन्छ । यसतर्फ निर्गम उपन्यास केही कमजोर देखिन्छ । यसको पहिलो खण्डको सुरुको वाक्य हेरौँ है :
“मान्छेको चेहरा उस्तैउस्तै हुनसक्ला तर जिन्दगी उस्तैउस्तै हुन सक्दैन रहेछ किनकी जिन्दगी अनौठो र अनिश्चिततामा निश्चितताको खोजिगर्नतिर लाग्ने यात्रा हो जुन अनन्तदेखि अनन्ततिर गइरहन्छ जसलाई शुरुवात गर्दा यात्रीले एक कुरा त हिँड्ने बाटोको बारे प्रथमतः कुनै सोच नराखिकनै वा थाहा नपाइकनै पनि अनायास हिँड्न थाल्छ अनि अर्को कुरा क्रमशः हिँड्दाहिँड्दै उसले बाटो सरल एवं आरामदायक होस् भन्ने सोच राखे पनि बाटो उसले सोचे र चाहे जस्तो हुँदैन किनकि उसको बाटो कताबाट कता मोडिन्छ र कति मोडहरु भएर उतारचढाव हुँदै गुज्रिँदै कता पुग्छ भन्ने कुरा पहिल्यै ज्ञात हुँदैन जति हिडाइ हुन्छ त्यति अनुभूति हुन्छ तर यात्री जे जस्तो आइपरे पनि सहँदै अनवरतरुपले हिँडिरहनुपर्छ किनकि उसलाई हिँड्नु अनिवार्य हुन्छ ।” (पृ. १)
माथिको वाक्य अनावश्यक रुपमा तन्काइएको छ । यति धेरै संयोजकको प्रयोग किन गरिएको होला ? त्यसमा पदयोगमा मात्र नभएर शुद्धाशुद्धिमा पनि निकै गडबड छ । पहिलो वाक्य नै यस्तो अन्टसन्ट किन बनाइएको होला ? के यसमा सुधार गर्न सकिन्थेन ?
त्यस्तै उपन्यासको अन्तिम खण्डको समापन यसरी भएको छ :
“एउटा बस आइपुग्यो । सागर र गङ्गा त्यस बसमा चढे । मेरो जाने गाउँ खाली र भेट्ने मान्छेको अभाव भएपछि जान खोजिएको गन्तव्यको अर्थ देखिनँ । अर्को बस आउने ठेगान नभएको सुनिएपछि म पनि त्यही बसमा चढेँ ।
बस चल्यो । हस् त नमस्कार !!!” (पृ. १७२)
उपन्यासमा आएको माथिको कथन कसको हो ? उपन्यासमा प्रस्ट छैन । के यो कथन लेखकको हो ? हो भने यसअघि लेखक कथयिता भएर उभिएको पनि छैन । अनि अन्त्यमा कसरी देखिन आइपुगे ? नभए चिठी वा संवादमा जस्तो गरी यस्तो कुरा उपन्यासमा कसरी आउँछ ? म नबुझेर पक्क परिरहेको छु ।
अचेल उपन्यास लेख्दा आरम्भमा अन्तर्वार्ता लिएजस्तो, अनुसन्धानबाट भेटेजस्तो (सेतो धरती), कसैको कुरा सुनेजस्तो (बोरा), केही पुराना सामग्री पढेजस्तो (राधा), डायरीबाट साभार गरेजस्तो (बखान) नयाँ टेक्निक प्रयोग गरेर थाल्ने प्रचलन बढ्दो छ । यसले उपन्यासलाई पढौँ पढौँ जस्तो बनाउँछ । यतातर्फ पनि लाग्ने हो कि लेखक महोदय ?
समापनका केही शब्द
लामो समय शिक्षण पेसामा आवद्ध रही अवकाशप्राप्त जीवनमा साहित्यतर्फ आकर्षित भएका साहित्यकार गोकर्ण मल्लले हालसम्म दुईवटा उपन्यास र एउटा कविताको कृति प्रकाशित गराइसकेका छन् । उनी चार वर्षको अवधिमा तीनवटा साहित्यिक कृति प्रकाशित गराउन सफल भएका कारण उनको लेखनको गति मापन गर्न सकिन्छ । उनको लेखनको गति यस्तै हिसाबले अगाडि बढ्दै जाओस् । आख्यान लेख्नु र त्यसमा पनि उपन्यासमा कलम चलाउनु सजिलो काम हुँदै होइन, तर उनी त्यसमा प्रतिबद्ध भएर लागेका छन् । आख्यान भनेको घटनाको थुप्रो मात्र होइन । आख्यानमा त्यसका अवयवको पनि ख्याल गरिनुपर्छ, भाषिक परिष्कार पनि उत्तिकै आवश्यक हुन्छ । दोस्रो उपन्यासमा आइपुग्दा पनि यतातर्फ उनको ध्यान नपुगेको देखिन्छ । यसमा ख्याल गर्न सके उनको उपन्यास निकै सशक्त बन्न सक्थ्यो कि ?





