एक वर्षदेखि बेपत्ता किशोरीको उद्धार

राप्ती, ६ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको थ्री एन्जल्स नेपाल चितवन शाखाले एक वर्षदेखि वेपत्ता रहेकी एक किशोरीको उद्धार गरेको छ ।

कालिका नगरपालिका स्थायी ठेगाना भएकी १८ वर्षीया अस्मिता (नाम परिवर्तन) एक वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन अवस्थामा थिइन् ।
गत बिहीबार थ्री एन्जल्स नेपाल चितवन शाखाले उनलाई उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

बिहीबार दिउँसो करिब ३ बजे नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा राप्ती नगरपालिका–१ लोथरबाट अन्दाजी २७/२८ वर्षको एक युवकसँगै उक्त किशोरी यात्रा गरिरहेको अवस्थामा भेटिएकी थिइन् ।
शंकास्पद अवस्थालाई ध्यानमा राख्दै थ्री एन्जल्स नेपाल चितवन शाखाको टोलीले किशोरीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो ।

थ्री एन्जल्स नेपाल चितवन शाखाकी प्रमुख सुनिता सिल्वालका अनुसार, किशोरीलाई इलाका प्रहरी कार्यालय भण्डाराको रोहवरमा राखी आवश्यक सोधपुछ गरिएको थियो । त्यस लगत्तै सो किशोरीकी आमासँग सम्पर्क गरी कानुनी प्रक्रिया पूरा गर्दै परिवारलाई जिम्मा लगाइएको हो ।

सो क्रममा किशोरीसँगै रहेका पुरुष भने उक्त स्थानबाट फरार भएको र उनको खोजी तथा आवश्यक अनुसन्धानका लागि प्रहरीलाई जानकारी गराइएको प्रमुख सिलवालले बताउनुभयो ।

थ्री एन्जल्स नेपाल चितवन शाखाले पछिल्लोसमय मानव बेचबिखन, ओसारपसार तथा बेपत्ता महिला, बालबालिका र बेवारिसे व्यक्तिहरूको उद्धारलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका खेल्दै आएको छ ।

सो संस्थाले समुदायस्तरमै निगरानी बढाई जोखिममा परेका व्यक्तिहरूलाई सुरक्षित गर्न र परिवारसँग पुनर्मिलन गराउन निरन्तर पहल गरिरहेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट