भरतपुर, ५ पुस ।
चितवनको हात्तीसारमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई नेपाली हात्ती सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी कतारको अलखोर पार्कस्थित चिडियाघरमा राखिएका छन् । बुधबार साँझदेखि नै ती हात्तीहरूलाई अवलोकन गर्न पर्यटकको उल्लेख्य भीड लागेको छ ।
७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएकी हुन् भने ६ वर्षीय खगेन्द्रप्रसाद सन् २०१९ मा खोरसोर हात्ती प्रजनन केन्द्रमा जन्मिएका थिए । दुवै वयस्क हात्ती हाल अलखोर पार्क चिडियाघरमा सुरक्षित वातावरणमा राखिएका छन् ।
चिडियाघरमा रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले उनलाई तलाउमा नुहाइरहेको दृश्य देखिन्थ्यो भने खगेन्द्रप्रसादका माउते पाचुखा थारुले खगेन्द्रप्रसादको पिठ्युँमा फुलबुट्टा भरेर सिँगारिरहेका थिए । यी दृश्यहरू पर्यटकका लागि विशेष आकर्षण बनेका छन् ।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले मित्रता र कूटनीतिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार पठाइएको हो ।
नेपाली हात्तीको आगमनसँगै अलखोर पार्कस्थित चिडियाघरमा पर्यटकको चहलपहल बढेको छ । दुवै हात्ती हाल कतारमा नेपाली वन्यजन्तु संरक्षण र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा चर्चामा छन् ।





