चितवन, २७ मङ्सिर ।
समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो विशाल अवार्ड – २०८२ सम्पन्न भएको छ । कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी विभिन्न विधामा सम्मान गरिएको हो ।
अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगरबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयर बाट अञ्जु कार्की, युवा उद्यमी वर्षबाट प्रदीप शर्मा, युथ आइकन अफ द इयर बाट सुमिना चौधरी सम्मानित हुनुभयो । यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्रप्रसाद सिलवाललाई, राप्ती हिरो अवार्ड बालकृष्ण थपलियालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ र महिला उद्यमी वर्ष २०८२ बाट सीता गुरुङ सम्मानित हुनुभयो । सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले यस्ता अवार्डले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाउने विश्वास व्यक्त गरे ।
अवार्ड वितरण भुमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नम्बर ३ का अध्यक्ष शिवकान्त वली, वडा नम्बर ५ का अध्यक्ष सीताराम वल, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुँवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ, विभिन्न वडाका वडा सचिव, लैङ्गिक अधिकारकर्मी उत्तम थापा, राप्ती प्याव्सनका अध्यक्ष दीपक सारुलगायतका विशिष्ट व्यक्तित्वहरूले गर्नुभएको थियो ।
हाम्रो राप्ती एफएम र विशाल न्युजको आयोजनामा, राप्ती नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको प्रबर्द्धनमा सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । आयोजकले आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।





