हंस सहकारीको २२ औं वार्षिक साधारणसभा सम्पन्न

भरतपुर, २७ मङ्सिर ।
भरतपुर महानगरपालिका–१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नारायणगढको २२ औं वार्षिक साधारणसभा शनिबार संस्थाको प्राङ्गणमा सञ्चालक समितिबाट पेश गरिएका विषयहरूमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ ।

संस्थाकी सेयर सदस्य समेत रहेकी संविधान सभा सदस्य माननीय गीता वाग्लेको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न सभामा सहकारीका सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सभाध्यक्ष चुकेले संस्थाको समग्र वित्तीय अवस्थाबारे स्पष्ट गर्दै पारदर्शिता, उत्तरदायित्व र सदस्य हितलाई प्राथमिकतामा राख्दै संस्था अगाडि बढिरहेको बताए ।

प्रमुख अतिथि माननीय गीता वाग्लेले सहकारी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौती तथा ती समाधानका उपायबारे धारणा राख्दै हंस बहुउद्देश्यीय सहकारी संस्था व्यवस्थापन, अनुशासन र सदस्य प्रतिको जवाफदेहिताका हिसाबले राम्रो अवस्थामा रहेको उल्लेख गरिन् ।

सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौड्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । यस्तै सञ्चालक समितिका सचिव शारदा शर्मा पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, सेवा विस्तार तथा भावी योजनाबारे जानकारी गराइन् । कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्यय, सम्पत्ति तथा दायित्वको अवस्था सभासमक्ष स्पष्ट पारे ।

सञ्चालक समिति सदस्य प्रा.डा. होमनाथ सापकोटाले कर्मचारी व्यवस्थापन, संस्थागत क्षमता अभिवृद्धि र सेवाको गुणस्तर सुधारका विषयमा मन्तव्य राखे । उपाध्यक्ष बाबुराम अधिकारीले सहकारीको दीगो विकासका लागि सञ्चालक समिति, कर्मचारी र सदस्यबीचको सहकार्य आवश्यक रहेको बताए ।

यस्तै, निर्वाचन समितिका संयोजक शिवप्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिमा रिक्त एक सदस्य पदमा हरि लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी गराए । निर्वाचन समितिका सदस्यहरू मञ्जु भट्ट पाण्डे र गोविन्द सुवेदी पनि सभामा उपस्थित थिए ।

सभामा सञ्चालक समिति सदस्यहरू ध्रुवकुमार ओझा, देशबन्धु अधिकारी, सन्देश पाठक र सूर्य बराल तथा लेखा सुपरिवेक्षण समिति सदस्य कृष्णहरि तिमिल्सिना लगायत सम्पूर्ण समिति तथा उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले हाल संस्थामा ५,४६५ जना सेयर सदस्य तथा ४७७ जना ऋणी सदस्य, सेयर पुँजी रू ९ करोड ७९ लाख, बचत निक्षेप रू ६३ करोड ७४ लाख, ऋण लगानी रू ६६ करोड ८८ लाख तथा कुल सम्पत्ति/वासलात रू ८८ करोड ४३ लाख पुगेको जानकारी दिए । यस अघी टाँडी , विजयनगर र जीतपुर सेवाकेन्द्र अन्तर्गतका सदस्यहरुको इकाई बैठक मङ्सिर २५ गते गरिएको समेत उनले जानकारी गराए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट