भरतपुर, २६ मङ्सिर ।
चितवनको नारायणी कला मन्दिरमा बिहीबारदेखि ‘चित्तौन कचेहेरी’को तेस्रो संस्करण सुरु भएको छ । तीन दिन (मंसिर २५–२७)सम्म चल्ने विचार, साहित्य र बहसको यस उत्सवको पहिलो दिन कविता तथा गजल वाचनका कार्यक्रम सम्पन्न भए ।
उत्सवको पहिलो दिन साँझ ३० भन्दा बढी कविहरूले कविता वाचन गरे भने ‘इरसाद’ नामक गजल सन्ध्या पनि विशेष आकर्षण बन्यो । भव्य महफिलमा गजलकार संगीता थापामगर, हुकुम धड्कन र महेन्द्र चन्दले गजल वाचन तथा गायन प्रस्तुत गर्दै समसामयिक साहित्यिक बहसलाई समेत गहिरो बनाए । समालोचक रमेश प्रभातले चितवनका कवि र कविता बारेमा समीक्षात्मक अभिलेख प्रस्तुत गरे ।
उत्सवको दोस्रो र तेस्रो दिन (२६ र २७ मंसिर) १५ वटा गम्भीर बहस तथा मन्थन सत्र आयोजना गरिनेछ । मुख्य आकर्षणका रूपमा भारतकी चर्चित आदिवासी कवि तथा चिन्तक जसिन्ता केरकेट्टाको विशेष विद्वत् प्रवचन रहनेछ ।
त्यसैगरी जसिन्ता केरकेट्टा, मनोज बोगटी र अरिफ राजाका कविताहरूमा आधारित ‘‘SHHH! Big Brother Is Watching You…’ ’ शीर्षकको नाटक पनि उत्सवकै क्रममा मञ्चन हुनेछ ।
आयोजक तथा संस्थापक निर्देशक सरिता तिवारीका अनुसार यस वर्षको कचेहेरी जेनजी विद्रोह, त्यसबाट उत्पन्न राजनीतिक–सामाजिक उथलपुथल तथा आगामी कार्यदिशामाथि केन्द्रित रहनेछ । भुइँमान्छेको आवाज र सरोकारलाई प्राथमिकताका साथ प्रस्तुत गर्नु नै कचेहेरीको मुख्य उद्देश्य रहेको उनले बताइन् ।
उत्सवमा नेपाल र भारतका ५० भन्दा बढी विद्वान्, विश्लेषक, राजनीतिज्ञ, अभियन्ता, साहित्यकार तथा पत्रकारहरू वक्ता, सहजकर्ता र प्यानलिस्टका रूपमा सहभागी छन् । बेटर चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा भइरहेको यो कार्यक्रम ४५ भन्दा बढी संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ ।





