मकवानपुर, २५ मङ्सिर ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४ सय ७० किलाे लागुऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । भीमफेदी गाउँपालिका अन्तर्गतकाे कालिटार तथा नामटार क्षेत्रमा गाँजा बिक्री भईरहेको सूचनाका आधारमा बिहीबार बिहान खटिएको प्रहरी टोलीले उक्त परिमाणकाे गाँजासहित बोलेरो नियन्त्रणमा लिएको हाे ।
नामटारबाट भैँसेतर्फ जाँदै गरेको बा १७ च ४२ नम्बरको बोलेरो पिकअपलाई रोक्न खोज्दा चालक गाडी लिएर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए जनाएकाे छ । उक्त गाडीलाई पछ्याउँदै जाँदा भीमफेदी–३ पान्द्राङस्थित ढुङ्गा खानीतर्फको भित्री बाटोमा लक गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गाडीलाई चेक गर्दा पछाडिको ढालाबाट १७ बोरा भित्र ५० पोका रातो प्लास्टिकले बेरिएको अवस्थामा ४ क्विन्टल ७० किलो गाँजा फेला परेको प्रहरी जानकारी दिएको छ । बरामद गाँजा र गाडीलाई नियन्त्रणमा लिई चालकको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।





