भोलिको उज्यालो जन्माउने एक बीज
समयलाई सिकाउने एक शब्द
मेरो सङ्घर्ष
पृथ्वी धानेको एक दृढता ।
म त्यो ज्वाला हुँ,
अन्याय र परम्पराका पुराना छायाँहरु जलाउँदै
हिँड्ने बाटोलाई फेरि नयाँ बनाइदिने ।
म त्यो असीम आकाश हुँ,
जहाँ सपनाहरुको सीमा छैन,
उडान मेरो स्वतन्त्रताको चिनो हो ।
मेरा पखेटा अदृश्य छन्,
बाधाभित्र बाटो थुनेका,
बाटो खोज्दा
मुटु थाक्न सक्छ,
पीडा हुन सक्छ,
घाउ मेरो पहिचान
जहाँ आशाको कर्णाली उर्लिरहन्छ ।
यहाँ पीडा फेरि शिक्षक हो,
निराशा मेरो पुनर्जन्म,
अड्चनमाथि पनि
आफ्नो भोलि निर्माण गर्न सक्ने हात हुँ ।
म छोरी हुँ,
आमाको न्यानो ओछ्यानभित्र जन्मिएको सपना हुँ
बाबाको आँखाभित्र टल्किएको ज्योति हुँ ।
मेरो उपस्थितिले संसार उज्यालो बनाउने
थकावट, दुःख पीडा साना हुन बनाउने
धैर्य मेरो पहिचान हो ।
म साहसको प्रतिमूर्ति हुँ,
मुटुभरी बल लिएर जन्मिएको ।
जीवनलाई अर्थ दिने शक्ति हुँ म,
बाबाको छाती फराकिलो बनाइदिने,
आमाको शिर उचो राख्ने ।
मेरो जन्मले
एउटा इतिहास बोकेको छ ।
आज म आफ्नै यात्राको अध्यायहरु हेर्छु,
कति भित्ताहरु चिरिएछन्,
कति तुफानहरुले निमोठेछन्,
सबै पन्छाएर उठेँ
अरुलाई पनि उठाएँ ।
यतिबेला म ‘म’ हुँ
म छोरी मात्र होइन,
म त पिढीहरूलाई दिशा देखाउने
जीवनको अन्तहीन ज्योति हुँ ।





