मुलुकलाई राजनीतिक दलको नेतृत्वमा अघि बढाउनु पर्छ : मुख्यमन्त्री बानियाँ

सिन्धुली, २३ मङ्सिर ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् ।

मुलुक राजनीतिक दलको नेतृत्वमा अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिक दललाई लामो समय बाहिरराखेर मुलुकमा स्थिरता ल्याउन नसकिने बताए ।

सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले भने, `मुलुकको संघीय सरकार लामो समयसम्म जनप्रतिनिधिविहीन हुनु हुँदैन । समयमै निर्वाचन गराएर गैरदलीय सरकार बाहिरिनु पर्छ ।´

जनप्रतिनिधिमूलक सरकार नहुँदा के अवस्था हुनेरहेछ भन्ने हेटौंडाका व्यवसायीले भरखरै भोग्नु परेको उनले चर्चा गरे ।

`जनताका प्रतिनिधिहरूको सरकार नहुँदा हेटौंडाका व्यवसायीमाथि प्रहार भयो । यसअघि पनि पटक पटक सडक भत्काउने प्रयास भएको थियो । जनप्रतिनिधिमूलक सरकार लखेटेर नागरिकको नाममा गठन भएको सरकारले समाधानको बाटो नखोजी के गर्यो सबैले देखेकै छौं´, उनले भने ।

प्रदेश सरकार गरिब किसान, विपन्न नागरिकलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउँदै उनले शिक्षालाई प्राविधिक सीप दिएर मुलुकमै रोजगार सिर्जना गराउन प्रयासरत रहेको बताए ।
प्रदेश सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताउँदै उनले आगामी बजेट निर्माणको काम अघि बढ्नु अघि नै प्रस्तावहरू ल्याउन निजी क्षेत्रलाई आग्रह गरे ।

विघटित प्रतिनिधिसभाका कांग्रेस मुख्यसचेतक श्याम घिमिरेले धारा ७६ बाहेक अन्य कुनै पनि धाराले प्रधानमन्त्री बन्न नसक्ने बताए । वर्तमान सरकार संवैधानिक रहेको भन्दै उनले संविधानको उल्लेखसमेत नगरी गरिएको प्रतिनिधिसभा विघटन पनि असंवैधानिक रहेको बताए ।

मुलुकमा व्यवसायिक वातावरण निर्माण हुन नसकेको भन्दै उनले प्रदेश व्यवसायीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

विघटित प्रतिनिधिसभाका सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले दल कमजोर बनाएर मुलुकलाई द्वन्द्वमा होम्ने षडयन्त्र चलिरहेको बताए ।
`नेपाललाई युक्रेनजस्तो अवस्थामा पुर्याउन जिलेन्स्कीको खोजी भइरहेको छ । समाजमा द्वन्द्व भित्र्याउन प्रयास भइरहेको छ´, उनले भने, `मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर छ । हतियार र अपराधी बाहिर राखेर कस्तो निर्वाचन होला ?´

उनले जेनजी आन्दोलनपछि व्यवसायिक वातावरण थप बिथोलिएको भन्दै बाह्य लगानी भित्र्याउन पनि नयाँ परिस्थिति निर्माण आउनुपर्ने बताए ।
उनले जेनजीसमेतको सहमतिमा संविधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनमा जानुपर्ने बताए ।

विघटित प्रतिनिधिसभाकी सांसद तथा कांग्रेस सचेतक सुशीला थिङले सरकार असंवैधानिक रहेको बताइन् । उनले संसद् भंग गर्नु पनि असंवैधानिक भएको भन्दै त्यसैकारण संसद् पुनःस्थापना हुनुपर्छ भनेर आफूहरू अदालत गएको बताइन् । `समाजमा भाइरल प्रवृत्ति छ, त्यसले समाजलाई ठीक ठाउँमा पुर्‍याउँदैन । समाज र मुलुक थप दुर्घटनामा जान सक्छ । जसले जे काम गर्ने हो, त्यसले त्यही नगर्दा अहिले समस्या आएको हो´, उनले भनिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library