श्रुति सङ्गीत पाठशालाद्वारा ‘स्मृति साङ्गीतिक साँझ’ आयोजना

भरतपुर, १८ मङ्सिर ।
श्रुति सङ्गीत पाठशालाले गजल मञ्च चितवनसँग सहकार्य गर्दै स्वरसम्राट नारायणगोपालको ३५औँ पुण्यतिथिको अवसरमा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ आयोजना गर्ने भएको छ । पाठशालाले यही मंसिर २० गते शनिबार साँझ भरतपुर–४ स्थित वैदिकनगरको स्वाद सदनमा कार्यक्रम गर्न लागेको हो ।

पाठशालाका सञ्चालक तथा सङ्गीत प्रशिक्षक चन्द्र घलेका अनुसार उक्त साँझ नारायणगोपालसँगै नेपाली गीत–सङ्गीत क्षेत्रमा अतुलनीय योगदान दिएका तथा हालसम्म दिवङ्गत भइसकेका वरिष्ठ गायक–गायिकालाई एकै मञ्चबाट स्मरण गरिनेछ । कार्यक्रममा पाठशालाका विद्यार्थीहरूसहित सात जना कलाकारले १४ वटा गीत प्रस्तुत गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘हामीले नारायणगोपालको पुण्यतिथि पारेर कार्यक्रम आयोजना गरे पनि समग्रमा सबै अग्रज कलाकारप्रति सम्मान प्रकट गर्ने उद्देश्य राखेका छौँ,’ घलेले भने- ‘त्यसैअनुसार प्रेमध्वज प्रधान, भक्तराज आचार्य, तारादेवी, अरूणा लामा, अरूण थापालगायतका दिवङ्गत व्यक्तित्वलाई पनि एकैसाथ सम्झिने प्रयत्न गरेका हौँ ।’

नारायणगोपालका समकालीन स्रष्टाहरूलाई एकसाथ स्मरण गर्दा नयाँ पुस्ताका कलाकारलाई सिक्न र आफूलाई निखार्ने अवसरसमेत मिल्ने विश्वाससहित स्मृति दिवसको अवसरमा कार्यक्रम गर्ने तयारी गरिएको उनले बताए । हाल कार्यक्रमका लागि नियमित अभ्यास चलिरहेको पनि उनले जानकारी दिए ।

भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको सहयोग तथा गजल मञ्च चितवनसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । मोफसलमै बसेर नेपाली गीत–सङ्गीतमा रुचि राख्ने स्रष्टा तथा साधकलाई अवसर प्रदान गर्ने उद्देश्यसहित २०६० सालमा श्रुति सङ्गीत पाठशालाको स्थापना गरिएको थियो ।

दुई दशकभन्दा बढी अवधिमा करिब तीन हजार विद्यार्थीले यहाँबाट गीत–सङ्गीतको औपचारिक प्रशिक्षण प्राप्त गरिसकेका छन् । विसं १९९६ असोज १८ गते जन्मिएका नारायणगोपाल गुरूवाचार्यको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । नेपाली सुगम सङ्गीतको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका कारण ‘स्वरसम्राट्’को उपाधि पाएका उनका दर्जनौँ कालजयी गीत आज पनि नयाँ पुस्तामा उत्तिकै लोकप्रिय छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट