कावासोती, १७ मङ्सिर ।
अपाङ्ग पूनर्स्थापना केन्द्र कावासोतीले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रम विविध प्रस्तुति र प्रतिस्पर्धासहित सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जीवनराज सापकोटाले गरेका थिए भने सञ्चालन नीलकण्ठ तिम्सिनाले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा कावासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थनेत उपस्थित थिइन् । विशेष अतिथिमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इन्स्पेक्टर, वडाध्यक्ष डोरमान गिरी, संस्थापक अध्यक्ष भीमबहादुर मगर, नवलपुर दक्षिण कोरिया सम्पर्क समाजका हेमराज चपागाईं र रोटरी क्लब अफ कावासोतीका प्रतिनिधि भरत पोखरेललगायतका समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
प्रतिस्पर्धात्मक खेल तथा सांस्कृतिक प्रस्तुति कार्यक्रम अन्तर्गत सहभागीहरूले विभिन्न खेल र प्रस्तुतिहरूमा सक्रिय प्रतिस्पर्धा र सहभागिता जनाए ।
प्रतिस्पर्धात्मक खेलमा व्हील चेयर दौड, घैंटो फोड, चकलेट दौड थियो भने नृत्य तथा गायन प्रस्तुति पनि रहेको थियो ।
समाजसेवी हेमराज चापागाईंलाई संस्थालाई गरेको सहयोगका लागि सम्मान गरिएको थियो । विभिन्न खेल तथा विधाका विजेताहरूलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि फूलकुमारी थनेतले गरेकी थिइन् । कार्यक्रममा सागर ढुंगाना, ज्ञानप्रसाद भुसाल, फूलकुमारी थनेत र जीवन सापकोटाले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमले अपाङ्ग व्यक्तिहरूको सहभागिता, क्षमता र आत्मविश्वासलाई सुदृढ गर्न महत्वपूर्ण योगदान दिएको आयोजक अपाङ्ग पूनर्स्थापना केन्द्र कावासोतीले जनाएको छ ।





