चलचित्र ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

चितवन, १४ मङ्सिर ।

चितवनका दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र ‘बिगुल’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा भएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्र बिगुल माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

आइतबार सार्वजनिक भएको चलचित्रको तीन पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा देखिएकी छन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा बेनीशा,अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशीत मुद्रामा छन भने तेस्रोमा ‘बिगुल’ का सबै प्रमुख कलाकार समेटिएका छन् ।

चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ । जेन्जी पुस्ताले आन्दोलनमा उठाएका मागसँग मेल खाने बिषय समेटेर आफूले पहिले नै चलचित्रको कथा लेखेको निर्माता तथा लेखक दिनेश कोइरालाको भनाइ छ । पहिले नै तिनै विषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ ।

बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग, देश विकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको उनले बताए । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र विकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको उनको भनाइ छ । चलचित्रले आम नेपालीको समृद्ध र विकसीत नयाँ नेपालको चाहनालाई सम्बोधन गरेकोले हरेक नेपालीलाई यो चलचित्र हेर्नु उनले आह्वान गरेका छन् ।

निर्देशक कोइरालाले पारिवारिक, सामाजिक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास ‘बिगुल’ मार्फत पर्दामा देखाउन खोजेको बताए । फिल्मले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, विनोद न्यौपाने,जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्वाद, शिव ढकालको छायाङकन रहेको चलचित्रमा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको छ । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र मोफसलको श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट