उज्यालो पार्टी नेपालको सम्पर्क व्यक्तिमा तीन जना चयन

चितवन, १४ मङ्सिर ।
घोषणा गर्ने तयारीमा रहेको उज्यालो पार्टी नेपालले चितवनमा जिल्ला भेला सम्पन्न गरेको छ । शनिबार भरतपुरमा भएको भेलाले जिल्लाका तीनै वटा निर्वाचन क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको पार्टीले जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराईका अनुसार क्षेत्र नम्बर १ मा कुशल केसी, क्षेत्र नम्बर २ मा सरला लामिछाने र क्षेत्र नम्बर ३ मा समीर केसीलाई सर्वसम्मतरूपमा सम्पर्क व्यक्ति तोकिएको हो ।

क्षेत्र नम्बर १ का कुशल केसी नेपाल–अस्ट्रेलिया प्रवासी नेपाली संगठनमा आवद्ध छन् । क्षेत्र नम्बर २ की सरला लामिछाने विवेकशील आन्दोलनकी सक्रिय नेतृ हुन् । क्षेत्र नम्बर ३ का समीर केसी चितवनका स्वतन्त्र युवा नेता मानिन्छन् ।

पार्टीका केन्द्रीय सदस्य भट्टराईका अनुसार सम्पर्क व्यक्ति तोकिएसँगै चितवन जिल्लामा पार्टी गतिविधि आवश्यकतानुसार सक्रिय बनाइने छ । यही मङ्सिर १७ गते काठमाडौंमा हुने पार्टी घोषणा कार्यक्रममा चितवनबाट व्यापक उपस्थितिको लक्ष्य राखेर भेला आयोजना गरिएको उनले बताए ।

पार्टीको घोषणा कार्यक्रमपछि जिल्ला कमिटी निर्माण गर्ने योजना समेत रहेको भट्टराईले जानकारी दिए । उनका अनुसार सम्पर्क व्यक्तिहरूले जिल्लाका सदस्यहरूलाई सक्रिय बनाउने र आवश्यक स्थानमा परिचालन गर्ने जिम्मेवारी पाउने छन् ।

चितवन भेलाको लागि केन्द्रीय सदस्य सञ्जीव भट्टराईसँगै पार्टीका केन्द्रीय सदस्यहरू इन्जिनियर डा शंकर ढकाल, डा आशुतोष विजय पन्तलगायतका नेताहरु चितवन आएका थिए ।

उज्यालो पार्टी नेपालले हाल आफ्नो पंक्तिलाई निर्वाचन केन्द्रित संगठन निर्माण र प्रचारप्रसार कार्यमा सक्रिय रूपमा लाग्न निर्देशन दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट