भरतपुर, १४ मङ्सिर ।
गोरखाली तमू समाज युवा क्लबले शनिबार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । हालै गठन भएको क्लबले समाजका पदाधिकारी, पूर्वअध्यक्ष एवम् समाजका सदस्य तथा आमा समूहका विभिन्न पदमा रहेका व्यक्तिहरुमाझ परिचयात्मक कार्यक्रम गरेको हो ।
क्लब गठन भइसकेपछि संस्थागत कार्य एकताको लागि पनि परिचय आवश्यक परेको क्लबका अध्यक्ष सोमबहादुर गुरूङले बताए । अग्रजहरुसँग भएको ज्ञान र अनुभवलाई अनुशरण गर्दै संस्थागत विकाससँगै भाषा तथा रीतिरिवाजको संरक्षण गर्न सक्दो प्रयास गरिने उनले बताए । ‘क्लबको मात्र नभई यो समाजको गरिमा बढाउने विषयमा हामी सचेत छौँ,’ उनले भने, ‘हामीलाई डोर्याउने जिम्मा समाजका अग्रजहरुको काँधमा छ । त्यसलाई समातेर पछिपछि दौडिन हामी आएका छौँ ।’
गोरखाली तमू समाजका पूर्वअध्यक्ष एवम् क्लबका सल्लाहकार ईमानसिंह गुरूङले युवापुस्ताले पनि भाषा, संस्कृति तथा रहनसहन बुझ्न आवश्यक रहेको बताए । ‘त्यसको लागि पुरानोले सिकाउने र नयाँले सिक्ने चासो राख्नुपर्छ,’ उनले भने, ‘हाम्रो धर्म, संस्कृति तथा रीतिरिवाज पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गइरहेको अवस्थामा क्लबको गठनले हामीलाई उत्साह थपेको छ ।’
क्लब गठन भइसकेपछि समाजलाई अझ बलियो बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । समाजको हरेक गतिविधिमा युवाहरुको उपस्थिति उत्तिकै आवश्यकता पर्ने हुँदा ढिलै भए पनि सङ्गठित भएर समाजलाई खुसी दिलाएको उनले बताए ।
२०६२ सालमा स्थापना भएको समाजले २० वर्षपछि बल्ल युवाहरुलाई सङ्गठित गराउन सफल भएको भन्दै आगामी दिनमा समाजको हरेक गतिविधिमा क्लबलाई पनि समेटेर अघि बढ्ने गोरखाली तमू समाजका अध्यक्ष भुवन गुरूङले बताए ।
चितवनसहित गोरखा, लमजुङ, तनहुँ, धादिङलगायत छिमेकी जिल्लाबाट भरतपुर–११ गोरखाली टोलआसपास बसाइसरी आएका गुरूङहरुको संस्था गोरखाली तमू समाजमा करिब एक सय घरधुरी आवद्ध छन् । समाजमा आवद्ध सदस्यका परिवारका युवा सदस्य क्लबमार्फत समाजमा जोडिएका हुन् ।




