सापकोटाको `ज्ञानिका´ माथि सौराहामा विमर्श

सौराहा, १३ मङ्सिर ।
लेखक ददि सापकोटाको नयाँ किताब ‘ज्ञानिका’माथि शनिबार सौराहामा विमर्श गरिएको छ । कार्यक्रममा ‘ज्ञानिका’का पाँचजना पात्रले पाठक सामु आफ्ना कुरा राखेका थिए ।

वन्यजन्तु प्राविधिकका रूपमा सौराहामा लामो समय काम गरेको अनुभव पुस्तकमा पस्केका विष्णुमान लामाले १४ वर्ष हुँदा नेपाली बोल्न सिकेको र आ‍ैपचारिक शिक्षा निकै कम भए पनि आफूले फिल्डमा बटुलेको ज्ञानले देशविदेशका धेरैलाई वन्यजीव उद्धारलगायतका विषयमा सिकाएको बताए ।

त्यसैगरी अर्का पात्र हर्कमान लामाले ४३ वर्ष लगातार वन्यजन्तु प्राविधिकका रूपमा काम गरेको सुनाए । डराइडराई काम सुरु गरे पनि फिल्डबाटै धेरै ज्ञान र अनुभव बटुलेको र पुस्तकमा यसैका बारेमा चर्चा गरेको उनले बताए ।

बाबुकृष्ण कार्कीले २१ जनाको अनुभव समेटिएका कारण यो पुस्तक २१ तले मन्दिरझैं बनेको धारणा राखे । डाक्टर रमा मिश्रले किताबका २१ पात्रमध्ये आफू कान्छी भएको बताइन् । ‘संरक्षण अभियानमा महिला कम हुनुहुन्छ । जो लागेका छन् उनीहरूलाई यस्तो लेखनले हौसला दिन्छ,’ उनले भनिन् । निकै दुर्लभ र चर्चामा पनि नआउने मलाहा बिरालोको अध्ययनमा आफूले निकै कष्ट बेहोरेर काम गरेपछि अहिले यो जनावरबारे धेरैले चासो र चिन्ता लिन सुरू गरेको उनले बताइन् ।

पुस्तकका अर्का पात्र राजेन्द्र सुवालले नेपालमा चरालगायतका जीवजनावरका बारेमा विश्वका सर्वसाधरणदेखि उच्चपदस्थ व्यक्तित्वसम्म हुरुक्क हुने गरेको बताए । यस्ता जीव जनावरको संरक्षण र प्रचारमा लागेका व्यक्तित्वहरू पुस्तकमा समेटिनु संरक्षण कार्यलाई प्रोत्साहन भएको उनको भनाइ थियो । संरक्षणलाई आर्थिक उपार्जनसँग जोड्ने विषयमा पनि विमर्श गर्न आवश्यक भएको उनले बताए ।

पर्यावरण, वन्यजन्तु, वनस्पति, पर्यटनलगायतका विषयमा काम गर्ने २१ जनाका अनुभव र जीवनी समेटिएको ‘ज्ञानिका’ फाइन प्रिन्टले प्रकाशन गरेको हो । ‘अब हामी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन सक्ने विषय समेटिएका पुस्तक निकाल्ने क्रममा अगाडि बढेका छौं,’ भारीले भने ।

लेखक सापकोटाका त्यो नेपाल, दुखेको युरोप, वनको वैभव, जीवगाथालगायतका कृतिहरू प्रकाशित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट