कावासोती, ६ मङ्सिर ।
रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजना तथा मध्यविन्दु प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा कावासोतीमा सञ्चालन गरिएको दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा ३५० जनाको मुटु स्वास्थ्य परीक्षण गरिएको छ । शिविरले कावासोती मात्र नभई मध्यविन्दु, देवचुली, विनयी त्रिवेणी र हुप्सेकोटलगायतका स्थानीय तहका नागरिकलाई समेत लाभान्वित गरेको छ ।
विशेषज्ञ चिकित्सकको टोलीसहित गाउँमै मुटुरोग परीक्षणको सुविधा उपलब्ध गराइएपछि स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो ।
शिविरमा भरतपुर सरकारी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विशाल श्रेष्ठ, मध्यविन्दु प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. धर्मेन्द्र सापकोटा, डा. सरोज पोख्रेल, डा. अमृत पोख्रेल, डा. अरुण रिमाल र डा. आशिक थापासहितका चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो ।
मध्यविन्दु प्रादेशिक अस्पतालको प्राङ्गणमा सम्पन्न शिविरको उद्घाटन क्लबका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षता तथा प्रमुख अतिथि डा. धर्मेन्द्र सापकोटाको उपस्थितिमा गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. सापकोटाले समुदायमा बढ्दो मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यस्ता निःशुल्क स्वास्थ्य शिविरले प्रारम्भिक जोखिम पहिचान र स्वास्थ्य सचेतनामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
त्यसैगरी, क्लब अध्यक्ष कृष्णप्रसाद अर्यालले रोटरी क्लब समुदाय–केन्द्रित स्वास्थ्य अभियानलाई निरन्तरता दिइरहेको बताउँदै मुटुरोग सम्बन्धी जागरण फैलाउन तथा जोखिम पहिचानलाई सहज बनाउन शिविर महत्वपूर्ण भएको धारणा राख्नुभयो ।
कार्यक्रममा मध्यविन्दु प्रादेशिक अस्पतालका मेडिकल अफिसर रमेश आचार्य, पूर्व अध्यक्ष बालकृष्ण घिमिरे, हरि ढुंगाना, निवर्तमान अध्यक्ष अर्जुन सापकोटा, जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीलगायतका वक्ताहरूले रोटरी क्लब अफ नवलपुर कावासोतीले निरन्तर गर्दै आएको सामाजिक तथा स्वास्थ्यमुखी सेवामूलक कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने बताउनुभयो ।
क्लबका पदाधिकारी,अस्पतालका कमचारी, स्थानीयवासीलगायतको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव राधिका भुसालले गर्नुभएको थियो ।




