मकवानपुर, ४ मङ्सिर ।
विपद् प्रभावित स्थानमा जडान गर्न भारत सरकारले नेपालका लागि १० वटा बेलिब्रिज सहयोग उपलब्ध गराएको छ । बिहीबार हेटौंडामा एक समारोहमा भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० वटा बेलिब्रिजमध्ये पहिलो ब्रिज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएका पुल ७० मिटरभन्दा लामा, ४.२५ मिटर चौडा (एकल–लेन) र ३८ मेट्रिक टनसम्मको भार वहन गर्न सक्ने क्षमताका रहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा हेटौंडामा आयोजित कार्यक्रमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त ब्रिज हस्तान्तरण गरेका हुन् । गत असोज महिनाको बाढी र पहिरोले क्षति पुर्याएको भौतिक पूर्वाधार, विशेषगरी पूर्वी नेपालको कोशी प्रदेश र अन्य क्षेत्रमा अवरुद्ध सडक सञ्जाल पुनर्निर्माणका लागि उक्त सहयोग प्रदान गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।
‘नेपाल सरकारको अनुरोधमा भारत सरकारले गत वर्षजस्तै यस वर्ष पनि १० वटा बेलिब्रिज उपलब्ध गराएको हो’ महानिर्देशक जैसीले भने ‘यस वर्ष इलाम लगायतका क्षेत्रमा भारी वर्षाले पुर्याएको क्षतिपछि भारतले तत्काल प्राविधिक सहयोग र थप बेलिब्रिज उपलब्ध गराइएको हाे ।’ गत वर्षको भीषण बाढी र पहिरोपछि भारतले उपलब्ध गराएका १० वटा बेलिब्रिजहरु जडान गरेर सडक सञ्जाल संचालन गरिएको थियो । अहिले प्राप्त बेलिब्रिज पनि हेवा खोला, बागमती नदी र लार्छालगायतका स्थानमा जडान गरिनेछ ।
उक्त पुलहरु चाँडै जडान गरी सडककाे सञ्जाल पुनस्थापना गरिने बताइएकाे छ । लामा स्पानका पुलहरु जडान गर्न विशेष प्राविधिक विशेषज्ञता चाहिने भएकाले भारतले पुल निर्माण गर्ने कम्पनी ‘गार्डन रिच’ का इन्जिनियरहरुको टोली पठाउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए । उक्त टोलीले नेपाली इन्जिनियरहरूलाई क्षमता विकास तथा तालिम प्रदान गरी पुल जडानमा सहयोग गर्ने छ ।





