देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण

चितवन, ३ मङ्सिर ।
शारदानगर जेसीजले एक्सपर्ट एजुकेसनको सहयोगमा चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला र पानी पिउने बोतल सहयोग गरेको छ । विद्यालयमा परिसरमा एक कार्यक्रम गर्दै १ सय ५९ जना विद्यार्थीलाई विद्यालयमा प्रयोग हुने झोला र बोतल सहयोग गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर – ६ का वडा अध्यक्ष लक्ष्मण प्रजा, एक्सपर्ट एजुकेशन चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाल, शारदानगर जेसीजकी अध्यक्ष लक्ष्मी केसीलगायतले विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।

सो क्रममा बोल्दै वडा अध्यक्ष प्रजाले पहाडी क्षेत्रका विद्यालयहरु भौतिक पूर्वाधारको अभावसंगै विद्यार्थीहरुलाई विभिन्न सामग्री अभाव हुने गरेको स्मरण गर्दै यस्तै सहयोगको आवश्यकता रहेको बताए । जेसीजकी अध्यक्ष केसीले जेसीजले यस ठाउँमा विगतदेखि नै विभिन्न सहयोगहरु गर्दै आएकोमा यसपटक पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले झोला वितरण गरिएको बताइन् । उनले सहयोगका लागि एक्सपर्ट एजुकेशनलाई धन्यवाद दिइन् ।

एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले विपन्न समुदायको शिक्षामा एक्सपर्टले विगतदेखि नै सहयोग गर्दै आएको भन्दै यस ठाउँमा पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि एक्सपर्टले विपन्न समुदायको शिक्षामा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

कक्षा ८ सम्म अध्यापन हुने यस विद्यालयमा अध्ययनरत १ सय ५९ मध्ये १ सय ५५ जना चेपाङ रहेको प्रधानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिइन् । उनले त्यस क्षेत्रमा विद्यार्थीलाई भन्दा बढी अभिभावकलाई सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट