माडी, २६ कात्तिक ।
माडी नगरपालिका- १, पाण्डवनगरमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्रालाई भरतपुर महानगरपालिका – ४, पिपलचोकस्थित सनराइज स्कुलका विद्यार्थीहरुले स्टेसनरी सामान वितरण गरेका छन् । पाण्डवनगरका ८० जना छात्रछात्रालाई कापी, कलमलगायतका स्टेसनरी सामान राखेर हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय अभिभावकहरु पनि उपस्थित रहेका थिए ।
सनराइज इन्टर्याक्ट क्लबको संयोजनमा गरिएको उक्त कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष लोकेन कार्कीले गरेका थिए भने प्रमुख अतिथि माडी नगरपालिका- १ का वडा अध्यक्ष अमित कुमार लामा रहेका थिए । सनराइज इङ्गलिस स्कुलका शिक्षक रामकृष्ण लामिछानेले चलाएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सनराइजका +२ संयोजक जीवलाल चालिसे, पाण्डवनगरका शिक्षक भविश्वर शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।
छोटो औपचारिक कार्यक्रमपछि बालबालिकाका बिचमा रमाइलोका लागि खुल्ला हाजिरीजवाफ प्रतियोगिता राखिएको थियो । त्यसपछि हरेक विद्यार्थीलाई स्टेसनरी सामान वितरण गरियो । यसरी स्टेसनरी सामान पाउँदा उक्त विद्यालयका ससाना बाबनानी निकै खुसी देखिएका थिए । आफूले खाजा खर्च कटौती गरेर अर्को विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाउँदा सनराइजका विद्यार्थी निकै खुसी देखिन्थे । यसरी सानै उमेरमा उनीहरुले समाजप्रति सानो भए पनि दायित्व निर्वाह गरेर आफ्नो विद्यालयतर्फ फर्किए ।





