ढुङ्गा ! न बोलेको, न हिँडेको,
तर श्रद्धाको स्पर्शले ऊ पनि थरथरायो
भित्तामा चित्रित आकारभित्र
एक अद्भुत न्यानोपनसँगै
मानौँ ईश्वरले ढुङ्गाको छालमै प्राण फुकिदिएको हो ।
तर मान्छेहरू…
वर्षौंसम्म मन्दिर धाउँछन्,
फूल, धूप र मनका माग बोकेर
घण्टी बजाउँछन्, मस्तक निहुराउँछन्,
तर फर्किंदा पनि मन उस्तै खाली रहन्छ ।
देवता त स्थिर छन्,
भित्तामा, दीपको उज्यालोमा,
तर मान्छे हरेक प्रार्थनामा
आफ्नो अस्थिर आत्मालाई खोज्दै भौँतारिन्छ ।
कसरी भेटिन्छ त भगवान् ?
ढुंगाको रूपमा होइन,
शुद्ध मनको कम्पनमा
न मन्दिरको गजुरमुनि,
न भित्तामा टाँसिएको सुनौलो चन्दा भित्र ।
भगवान त त्यहीँ छन् !
जहाँ आँसु साँचो हुन्छ,
जहाँ मौन प्रार्थना शब्दभन्दा गहिरो हुन्छ ।
ढुङ्गाले देखायो देवत्व,
तर मान्छेले बिर्सियो मानवीयता ।
मन्दिर उज्यालो भयो,
तर मनको कोठा अझै अँध्यारो छ ।
एकदिन
जब कुनै दिन उसले
भित्रको डर र बाहिरको देखावटीमा बीचको भित्तो तोड्नेछ,
जब ऊ आफ्नो मौन आँसुलाई पनि श्रद्धा ठान्नेछ ।
त्यो दिन
ढुङ्गा बोल्नेछ फेरि,
र ऊ बुझ्नेछ
ईश्वर कहिल्यै हराएका थिएनन्,
हराएको त केवल आफ्नो अनुभूति थियो ।




