चितवन, १४ कात्तिक ।
भरतपुर महानगरपालिका–२९ सिमलताल स्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा मोटरसाइकल र भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको एनएल ०१–२३७४ नम्बरको भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङ जिल्लाको गजुरी गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र तामाङ र पछाडि सवार १८ वर्षीय रोहित तामाङ घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा चालक रामचन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय कन्टेनर ट्रक चालक भारत, कलकत्ताका ५० वर्षीय जितेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





