मकवानपुर, १० कात्तिक ।
मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सोमबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको बाप्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी स्कुटरमा सवार केदारकी श्रीमति २८ वर्षीया सरस्वती श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सरस्वतीको भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ । स्कुटरमै सवार केदार र सरस्वतीका छोरा २ वर्षीय प्रविन श्रेष्ठ पनि घाइते भएकोमा एलाईभ अस्पतालमा उपचार भइरहेकाे तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ग्यास बुलेट र बुलेट चालक भारतको बिहार राज्यका ५५ वर्षीय मोहमद मतिन नियन्त्रणमा लिइएकाे प्रहरीले जानकारी दिएको छ ।





